अचानक युक्रेन पुगे अमेरिकी राष्ट्रपति, युद्ध जितेरै छाड्ने जेलेन्स्कीको घोषणा

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किभ पुगेका छन् ।

पोल्यान्डको भ्रमणका लागि गएका राष्ट्रपति बाइडेन सीमाबाट रेल चढेर अचानक किभ पुगेका हुन् । रुसले आक्रमण गरेको १ वर्षपछि बाइडेन पहिलो पटक किभ पुगेका हुन्।

उनले किभमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटेर  युद्धमा युक्रेनको साहसको कदर गरेका छन् । उनले युक्रेनको लोकतन्त्र, सम्प्रभुता र क्षेत्रीय अखण्डताका लागि अमेरिकाको निरन्तर र अटल प्रतिबद्वतालाई फेरि पुष्टि गरेको बताएका छन् ।

‘लगभग एक वर्षअगाडि पुटिनले हमला गर्दा सोचेका थिए कि युक्रेन कमजोर छ। युरोप विभाजित छ। उनले सोचेका थिए कि हामी थाक्ने छौं। तर उनी बिलकुल गलत सावित भए,’ अमेरिकी राष्ट्रपतिको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

उपराष्ट्रपति छँदा आफू ६ पटक किभ आइपुगेको बताउँदै राष्ट्रपति बाइडेनले भने, ‘मलाई थाहा थियो, म फेरि यहाँ आउनेछु।’ 

यसअघि पोल्यान्ड जाँदा राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउस जनाएको थियो । तर, अमेरीकी राष्ट्रपति किभ पुगेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी र अमेरीकी राष्ट्रपति बाइडेनले एक संयुक्त विज्ञप्ति समेत जारी गरेका छन्। विज्ञप्तिमा जेलेन्सकीले लोकतान्त्रिक विश्वमा यो ऐतिहासिक युद्ध जितेरै छाड्ने घोषणा गरेका छन् ।

जेलेन्स्कीले अमेरिका–युक्रेन इतिहासमै यो सबैभन्दा महत्वपूर्ण भ्रमण भएको दाबी गरेका छन् । बाइडेन ५० करोड डलरको सैन्य सहायता घोषणा पनि गरेका छन् ।

गतवर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।

 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्