काठमान्डू कथा

खुला फुटपाथ, ठप्प व्यापार

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– चाडबाड र सार्वजनिक बिदाको दिन व्यस्त रहने काठमाडौँ महानगरपालिकाभित्रका केही मुख्य ठाउँहरू अहिले खुला देखिन्छन् । 

फुटपाथमा पैदल यात्रीको चाप उही हो । तर, फुटपाथमा हुने व्यापार र अव्यवस्थित पार्किङ हटाएपछि मुख्य ठाउँहरू खुला देखिएका हुन् । 

सडकछेउमै गरिने व्यापार र पार्किङका कारण काठमाडौँ महानगरका नयाँ बानेश्वर, कोटेश्वर, दरबारमार्ग, बागबजारलगायत क्षेत्रमा जहिल्यै भिड देखिन्थ्यो । 

महानगरपालिकाले फुटपाथको व्यापार र पार्किङ हटाएपछि यी क्षेत्रहरू सुनसान जस्तै देखिन्छन् । 

footpath ktm (9)1676870194.jpg

नयाँ बानेश्वर चोकमा कपडा पसल गर्ने सुहानी श्रेष्ठलाई पनि आजभोलि सुनसान भएजस्तै लाग्छ । पसलकै अगाडि पार्किङ, सँगै फुटपाथ व्यापारले यताउता हिँडडुल गर्ने मान्छेलाई सकस भएको देख्दा भिडभाड लाग्थ्यो ।

महानगरले फुटपाथको व्यापार र पार्किङ व्यवस्थित गरेपछि उनलाई सुनसान जस्तै लाग्न थालेको हो । आफ्नो व्यापारमा पनि पहिलाको भन्दा कमी आएको उनको अनुभव छ । 

‘पहिला यहीँ पार्किङ गरेर मान्छे भित्र छिर्थे, बाटोमा पनि हिँडडुल गर्नै समस्या हुन्थ्यो, बेलुका भएपछि व्यपार र स्ट्रिट फुडका ठेलाहरूले घुइँचो हुन्थ्यो । अहिले त्यस्तो हुँदैन र खाली भए जस्तो लाग्छ,’ उनले भनिन् । 

दरबारमार्गका रमेश शर्मालाई पनि व्यापारमा कमी आएको अनुभव हुन थालेको छ । पसलकै अगाडि पार्किङ भएर दिक्क लाग्ने गरेको भए पनि त्यही पार्किङका कारण व्यापार हुने गरेको उनको अनुभव छ । 

footpath ktm (10)1676870194.jpg

‘आज मात्र होइन, सधैँ खाली नै हुन्छ, पार्किङ हुँदा कहिलेकाहीँ दिक्क त लाग्थ्यो तर, त्यसैको कारण व्यापार पनि हुन्थ्यो कि झैँ लाग्न थाल्यो अहिले त । रातिको व्यापारमा पनि त्यस्तो चहलपहल देखिँदैन,’ उनले भने । 

बानेश्वरकी श्रेष्ठ र दरबारमार्गका शर्मा मात्र होइन, बागबजारका रामजनमलाई पनि व्यापार नभएको अनुभव हुन्छ । मिष्ठान्न भण्डार सञ्चालन गरेको १० वर्षको समयावधिमा पछिल्लो समय कम व्यापार भएको उनको अनुभव छ । बागबजारमा पहिलेको भन्दा व्यापार घटेको उनले सुनाए । 

footpath ktm (5)1676870193.jpg

‘यहीँ सवारी रोकेर ग्राहक सीधै पसलमा छिर्थे, अहिले रोक्न दिँदैन, अन्त रोकेर आउनेहरू पुराना ग्राहकमात्र छन् । नयाँ त अन्तै रोक्छन्, अन्तै जान्छन्,’ उनी भन्छन्, ‘हाम्रो घर नै पुरानो मोडलको छ, पार्किङ कहाँ पाउनु ? गाह्रो छ, अलिअलि होम डेलिभरी हुन्छ त्यत्ति हो । यहाँ बसेर खाने ग्राहकको संख्यामा भने कमी आएको छ,’ रामजनमले भने । 

व्यापारीलाई समस्या भए पनि पैदल यात्रा गर्नेका लागि भने अहिले यी ठाउँहरू काइदाको भएका छन् । कैलालीका कमल भट्ट नयाँ बानेश्वरस्थित एक निजी कम्पनीमा काम गर्छन् । उनलाई पहिलाको भन्दा अहिले हिँडडुल गर्न सजिलो भएको छ । 

footpath ktm (6)1676870193.jpg

‘पार्किङ नभएर अहिले हिँडडुल गर्न सजिलो भएको छ, पहिला त बाहिर निस्केपछि अफिस छिर्नै समस्या हुन्थ्यो, अहिले त्यो समस्या कम छ,’ उनले भने ।

पद्मकन्या क्याम्पसमा अध्ययनरत तारा कुइँकेललाई पनि बागबजारमा अहिले हिँड्न सजिलो लागेको छ । दिउँसोको कक्षामा आउँदा उनलाई एकातर्फ पार्किङ र अर्कातर्फ चल्ने सवारीसाधनका कारण फुटपाथमै हिँड्न सकस भइरहेको थियो । 

‘साह्रै सकस थियो नि ! हामी यहाँ फुटपाथमा हिँड्दा पनि कस्तो गाह्रो हुन्थ्यो, अहिले पार्किङ नभएपछि सवारीसाधन निर्बाध चलेका छन् । र, फुटपाथमा हिँड्न पनि सजिलो भइरहेको छ,’ उनले भनिन् ।

पार्किङ मुक्त भएका मुख्य चोक 

बागबजार क्षेत्र काठमाडौँमा महाबौद्धपछिको व्यस्त बजार हो । फरकफरक खालका थुप्रै कार्यालय, व्यापार व्यवसाय, पुरानो र बाक्लो बस्तीका साथै साँघुरा गल्लीका कारण बागबजार क्षेत्र व्यस्त देखिन्थ्यो ।

footpath ktm (4)1676870193.jpg

गत मंसिरमा महानगरपालिकाले पार्किङ निषेध गरेपछि त्यहाँका व्यापारीहरू आन्दोलनमै उत्रिएका थिए । 

बागबजारको भित्री गल्लीमा घर भएका महेश श्रेष्ठ करिब २५ वर्षपछि बागबजारको सडक फराकिलो भएको अनुभव सुनाउँछन् । पुतलीसडक चोकदेखि भक्तपुर बसपार्कसम्म एकतर्फी बाटोमा पार्किङ हुने र एकतर्फी सडकमा मात्र गाडीहरू चल्नुपर्ने बाध्यताका कारण अस्तव्यस्त हुने गरेको उनको अनुभव छ ।

footpath ktm (1)1676870192.jpg

‘मलाई याद भएको झन्डै २४/२५ वर्ष भयो, यो सडक पहिलो पटक खुला देखिएको छ । नत्र जहिल्यै जाम हुने, जहिल्यै घुइँचो हुने, अहिले राम्रो भएको छ,’ उनले भने । 

व्यापारीहरूलाई व्यापार प्रभावित भएको लागे पनि सडकमा सवारीसाधन चलाउने र फुटपाथमा पैदल यात्रा गर्नेहरूलाई भने बागबजार पनि गजबको ठाउँ बनेको छ । 

बागबजार मात्र होइन, पार्किङ हटाएपछि दरबारमार्गका व्यापारी पनि आन्दोलित भएका थिए । दरबारमार्गमा पनि एक साइडमा भएको पार्किङका कारण जहिले सवारी चलाउन गाह्रो हुने गरेको ट्याक्सी चालक विमल लामा बताउँछन् । 

दरबारमार्ग र ठमेललगायत क्षेत्रमा ट्याक्सी पार्किङ गरेर बस्ने गरेका उनलाई अहिले सवारी लिएपछि बिनाझन्झट ओहोरदोहोर गर्न सजिलो भएको छ ।

footpath ktm (3)1676870192.jpg

‘यस्तो थिएन नि पहिला त ! कस्टमर यहाँबाट चढेपछि बाहिर निस्किन नै हैरान भइन्थ्यो, पार्किङ गरेर बाटो साँघुरो हुन्थ्यो, त्यो समस्या अहिले छैन, अहिले राम्रो भएको छ,’ लामाले भने ।

नयाँ बानेश्वर चोक पनि लामो समयपछि खुला भएको हो । हालको आकासे पुलबाट थापागाउँ छिर्नेबाटोसम्म फुटपाथ पसलले भरिभराउ हुने नयाँ बानेश्वर अहिले खुला भएको स्थानीय व्यापारी बताउँछन् । 

बानेश्वर चोकमा सुहानीले कपडा पसल गरेको पनि करिब १५ वर्ष भयो । उनले सुरुमा कपडा पसल गर्ने बेलादेखि एकनासको देखिएको यो क्षेत्र अहिले परिवर्तन भएको देखिन्छ ।

footpath ktm (2)1676870192.jpg

त्यो बेला केही दिन र घन्टाका लागि मात्र फुटपाथ खाली गराइने गरेको उनको अनुभव छ । फुटपाथ खाली गराएपछि लामो समयसम्म रहेको उनको अनुभवमा यो पहिलो हो ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्