नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– भारतसँगका दुई मैत्रिपूर्ण खेल खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । 

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागि भएर नेपाली टोली आइतबार स्वदेश फर्किएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् ।

कप्तान एञ्जिलाले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको बताइन् ।

आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिएपनि उनीहरुबिरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको उनको भनाई छ । उनले प्रिति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन् ।

यस्तै, नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भएपनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीबिरुद्ध सुखद् नतिजा निकाल्न सफल भएको बताइन् । दुई खेल मध्ये दुवैमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको बताइन् ।

बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजिमा आफ्नो टोली भएपनि राम्रो खेलेको बताइन् । अर्की खेलाडी अमिषा कार्कीले मैत्रिपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताइन् । उनाँले आफ्नो स्वभाविक खेल खेल्न नसकेको भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

एसियन कप छनोटको तयारीमा रहेको नेपाली भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताए । भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने धारणा प्रशिक्षक थापाले राखे ।

भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रिपूर्ण खेल खेलेको थियो । खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो । 

पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले एक पेनाल्टी गोलसहित एक गोल गर्न सफल भएकी थिइन् । 

यस्तै दोस्रो मैत्रिपूर्ण खेलमा भने नेपालले भारतबिरुद्ध गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्