अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

आइतबार, फागुन ७, २०७९

फैजाबाद–भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । 

लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने  सयौँ मानिस घरबारविहीन भएका छन् ।

प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले देशको उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा शनिबार दिउँसो भीषण वर्षा भएको जानकारी दिँदै जिल्लाको चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर, २५ पसल र छ सय एकड जमिन पूर्णरुपमा ध्वस्त पारेको बताएका छन् । 

साथै, उनले पीडित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन् । विपद् पीडित परिवारलाई बेवास्ता गर्दा उक्त गाउँमा थप विपत्ति निम्तने चेतावनी उनले दिएका छन् । 

केही दिनअघिको भूकम्पले प्रान्तीय राजधानी फैजाबादमा र बाहिरका ७५ आवासीय घर  ध्वस्त पारेको थियो । 

अफगानिस्तानमा पछिल्लो एक महिनामा भारी हिमपात र हिमपहिरोका कारण बालबालिकासहित करिब दुई सय जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्