नेपाली सेनाले आज २६०औँ स्थापना दिवस मनाउँदै

शनिबार, फागुन ६, २०७९

काठमाडौँ–नेपाली सेनाले शनिबार २६०औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । समारोहमा राष्ट्रपति एवम् सेनाको परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने छिन् । यस्तै भारतीय सेनाका पूर्वप्रमुखहरू लगायतको पनि उपस्थिति हुनेछ ।

समारोहमा परेड अर्थात् शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्याण्ड प्रस्तुति हुनेछ । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको साङ्गठनिक स्वरूप विसं १८१९ देखि सुरूवात भएको हो ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाले देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ सेनाले पुर्याएको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशंसा हुँदै आएको छ ।

नेपाली सेनाले पछिल्ला दिनहरूमा विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार बनाउने काम समेत गर्दै आएको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्त्वका संरचना, विद्युतगृह, भौतिक पूर्वाधार एवम् प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइमा लगायतका काममा नेपाली सेनाको महत्त्वपूर्ण योगदान छ ।

नेपाली सेनाको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको भन्दै प्रशंसा गरेकी छन् ।

उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरेकी छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि देश र नागरिकको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्