मस्कोद्वारा अस्ट्रियाली दूतावासका ४ कर्मचारी निष्कासन

शुक्रबार, फागुन ५, २०७९

मस्को– रुसले यहाँस्थित अस्ट्रियाली दूतावासका ४ जना कर्मचारीलाई निष्कासन गरेको छ ।

रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अस्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेको भन्दै निष्कासन गरेको हो । 

मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिइएको छ ।

रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना ४ जना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसका विरोध गर्दै त्यति नै संख्यामा अस्ट्रियाली अधिकारीलाई निष्कासन गरेको जानकारी दिएको हो ।

साथै मस्कोले अस्ट्रियाको अनुचित कदमबाट द्विपक्षीय सम्बन्धमा गम्भीर क्षति पुगेको जनाएको छ ।

गत माघ १९ गते अस्ट्रियाले रुसी दूतावासका २ कूटनीतिज्ञ र संयुक्त राष्ट्रसंघका लागि भियनास्थित स्थायी नियोगका २ कूटनीतिज्ञलाई अस्वीकार गर्दै कूटनीतिक सुरक्षा एवं उन्मुक्ति नदिने घोषणा गरेको थियो ।

कूटनीतिक सुरक्षा एवं उन्मुक्तिबाट वञ्चित भएपछि कुनै पनि त्यस्ता कूटनीतिक कर्मचारी आतिथेय मुलुकबाट तत्काल आफ्नो देश फर्कने प्रचलन छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्