सुत्केरीलाई लोकल भालेसहित घिउ र अन्डा

शुक्रबार, फागुन ५, २०७९

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् ।

उनीहरू भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरू लोकल भाले, घिउ र अन्डा बोकेर भेट्न पुग्छन् । 

सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरेको उनको भनाइ छ । 

गाउँपालिकाले हरेक सुत्केरीलाई एउटा लोकल भाले, १ मानो घिउ र १ क्रेट अन्डा वितरण गर्दै आएको छ ।

अध्यक्ष अधिकारी भन्छिन्, ‘सुत्केरीलाई दिइने भाले, घिउ र अन्डा आयातित नभई गाउँमै महिलाले उत्पादन गरेका हुन् । स्थानीय उत्पादन राम्रो र गुणस्तरीय हुन्छ, अर्को कुरा महिलालाई उत्पादन र आर्थिकसँग जोड्नका लागि मद्दत पुग्छ ।’

‘सुत्केरी पोषण’ गाउँपालिका अन्तर्गतका सबै सुत्केरी महिलाले प्राप्त गर्नेछन् । यस वर्ष ३९ जना सुत्केरीलाई पोषण वितरण गरिनेछ ।

१० महिनाभित्रका सुत्केरी महिलालाई यो सुविधा उपलब्ध गराइने गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत शेरबहादुर बुढाले जानकारी दिए ।

गाउँपालिकाले सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

उनका अनुसार गाउँपालिका ७ स्थानमा स्वास्थ्यचौकी, ३ स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र ५ स्थानमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा छन् ।

१० वटा वडा रहेको बडिगाडमा ९ वटा ‘बर्थिङ सेन्टर’ छन् । पछिल्लो ३ वर्षमा यहाँ ५० प्रतिशतले ‘होम डेलिभरी’ घटेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्