विधिको शासन प्रवद्र्धन तथा विश्व हितमा आइओएमइडी प्रभावकारी बन्ने विश्वास

शुक्रबार, फागुन ५, २०७९

बेइजिङ- चिनियाँ विदेशमन्त्री छिन गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता संगठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिएका छन् । 

संठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा मञ्च क्रियाशील हुने विश्वास व्यक्त गरे ।

मध्यस्थताको माध्यमबाट अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्न समर्पित विश्वको पहिलो अन्तरसरकारी संस्था आइओएमइडी संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने सिद्धान्तको अभ्यास महत्वपूर्ण निकाय भएको चिनियाँ विदेशमन्त्रीले बताए ।

आइओएमइडी विश्वसनीय एवं व्यावसायिक संस्था हुनुपर्नेमा पनि उनले जोड दिए ।

पारस्परिक सम्मानको सिद्धान्तलाई आत्मसात गर्दै सन्तुलित विकास, व्यापक परामर्श र संयुक्त योगदानको आधारशिलामा उभिएर खुलापन एवं समावेशीताको भावनालाई कायम राख्न आइओएमइडी सक्रिय हुनुपर्ने सुझाव विदेशमन्त्री छिनले दिए ।

विकासोन्मुख देशहरूको सहभागिता बढाउन तथा ती देशका मध्यस्थकर्तालाई तालिम दिन, अन्तर्राष्ट्रिय विवाद समाधान संयन्त्रलाई न्यायपूर्ण र सबैका लागि लाभदायक बनाउने काम गर्न उनले आग्रह गरे ।

समारोहमा इन्डोनेसिया, पाकिस्तान, लाओस, कम्बोडिया, सर्बिया, बेलारुस, सुडान, अल्जेरिया र जिबुटीलगायत आइओएमइडीको स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका देशका प्रतिनिधि सहभागी थिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्