युक्रेन सम्बन्धमा रुसलाई ‘दबाब’ दिन इटालीको आग्रह

शुक्रबार, फागुन ५, २०७९

रोम– युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रुसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । 

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रुसलाई दबाब दिन आग्रह गरे ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तापछि ताजानीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्तिको दिशामा अघि बढ्न चीनले आधारभूत भूमिका खेल्नुपर्छ ।’

‘बेइजिङले यस दिशामा प्रतिबद्धता जनाउन तयार छ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

युरोपेली भ्रमणको अन्त्यमा वाङले रुसको भ्रमण गर्ने कार्यक्रम छ ।

वाङसँगको वार्तामा ताजानीले कूटनीति, प्रभावकारी प्रतिबन्ध, मानवीय सहायता र ‘न्यायोचित शान्ति’का लागि वातावरण निर्माण गर्न रुसलाई दबाब दिनुपर्ने आवश्यकतालाई दोहो¥याएका थिए । 

याङले बुधबार पेरिसको भ्रमण गर्दा उनी र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनबीच युक्रेनमा ‘शान्ति स्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सको राष्ट्रपतिकोे कार्यालयले जनाएको छ ।

सन् २०२१ मा चीनमा मुस्लिम उइगर समुदायमाथि दमन भएको भन्दै विरोधमा बेइजिङमाथि प्रतिबन्ध लगाएपछि चीन र युरोपियन युनियनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । 

जबाफमा चीनले पनि ईयूविरूद्ध केही प्रतिबन्ध लगाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्