पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक सहभागी हुने

शुक्रबार, फागुन ५, २०७९

पोखरा– पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्यान्डलगायत देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

म्याराथनमा ७ वटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन् । पोखरा रंगशालामा हुने सो म्याराथनलगायत सबै विधामा गरी हालसम्म ८ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । 

यस वर्षको खुला म्याराथनमा १५० धावक सहभागी हुने बताइएको छ । महिलातर्फको हाफ म्याराथनमा ३५ धावक उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

यसैगरी १० किलोमिटर पुरुषतर्फको दौडमा १ हजार ५०० र महिलातर्फ ६०० जनाले नाम दर्ता गराएका छन् । 

५ किलोमिटर दौडमा ७० विद्यालयका छात्र र छात्रतर्फ क्रमशः १ हजार ६०० जना र ६०० जनाले नाम दर्ता गराएका पराजुलीले जानकारी दिए ।

ह्विलचेयरतर्फ ४७, दृष्टिविहीन दौडतर्फ ९० र ‘रन फर फन’तर्फ ५ हजार जनाले नाम दर्ता गराएका छन् ।

म्याराथन ९४२/१९५० किमी दौडका विजेताले ५ लाख, द्वितीयले ३ लाख र तृतीय हुने टोलीले २ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

मञ्चले गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । गण्डकीबाट सहभागी हुने धावकलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ५० हजार, ३० हजार र २० हजार प्रदान गरिने छ ।

महिलातर्फको हाफ म्याराथनमा च्याम्पियनलाई १ लाख ५० हजार, द्वितीयलाई १ लाख, तृतीय हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप १५ हजार प्रदान गरिने छ ।

यसैगरी १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय  पुरस्कार क्रमशः ३० हजार, २० हजार, १५ हजार तथा ५ किलोमिटर छात्र-छात्रा दौडतर्फ विजेताले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ७ हजार पुरस्कार पाउने छन् । 

ह्विलचेयर र दृष्टिविहीन महिला-पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसेस (एम्स)को मान्यता प्राप्त गरेको छ । 

प्रतियोगितालाई सुजल डेरी प्रालिले २०७२ देखि मुख्य प्रायोजन गर्दै आएको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख रुपैयाँ लाग्ने आयोजक संस्थाले जनाएको छ । म्याराथनका लागि विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्