हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

बिहीबार, फागुन ४, २०७९

झापा –पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने ८ पुलमध्ये हालसम्म ३ वटाको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको राजमार्गको झापा खण्डमा ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए ।

उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए । उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए ।

उनका अनुसार २०६८ देखि २०७६ सालसम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी असार २०८० साल मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल २०६८ सालमा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरु गरेको थियो । 

ठेकेदारको लापरवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो । पटकपटक म्याद थप गरी हाल पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उनको भनाइ छ । उनले तीव्ररुपमा निर्माण भइरहेको विरिङ पुलको ३ महिनाभित्रमा निर्माण सकिने बनाए । ‘हरेक बहानामा पुल निर्माणमा जति ढिलो हुनु भयो’, उनले भने, ‘अब ढिला हुन्न, सबै पुलको निर्माणको काम २०८० सालको असार मसान्तसम्ममा पूरै सकिन्छ ।’ उनले विरिङ पुलजस्तै १ दशकअघि सुरु भएको कनकाई पुलको भौतिक प्रगति भने ६० प्रतिशत मात्र भएको बताए ।

ठूलासाना नदीमा करिब २५ मिटर लम्बाइदेखि ६२४ मिटर लामा पुल निर्माण भइरहेका छन् ।

हुलाकी सडकमा पर्ने भुतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानोमाईको ९० प्रतिशत भइसकेको छ । यसैगरी लामो समय अलपत्र परेको झापा–मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माणसमेत सुरु भइसकेको छ । 

भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको इञ्जिनीयर खतिवडालेले जानकारी दिए ।सडक दुई लेनको बनेको छ । बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको छ ।

मेचीपुलदेखि राजगढको जनता बजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनता बजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीको दोधारा–चाँदनी पुलसम्म १ हजार ६०० मिटरको हुलाकी बाटो निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत बताइन्छ । 

त्यसैगरी हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब ४० किमी सडकमध्ये ३९ किमी सडकको निर्माण सकिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्