पाकिस्तानमा १ लिटर पेट्रोलको मूल्य २७२ रुपिया !

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ –पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । आर्थिक संकट झेलिरहेको पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपिया र हाई स्पीड डिजेलमा प्रतिलिटर १७ रुपिया मूल्यवृद्धि गरेको छ ।

मूलयवृद्धि भएपछि पाकिस्तानी बजारमा पेट्रोलको मूल्य २७२ रुपिया र हाई स्पीड डिजेलको मूल्य प्रतिलिटर २८० रुपिया पुगेको छ । त्यस्तै मट्टीतेल प्रतिलिटर २०२ रुपिया पुगेको छ ।

पाकिस्तानी संसद्मा अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)सँगको ऋण सम्झौताबारेको विधेयक पेस भएको केही घण्टामै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पाकिस्तानी मुद्रा कमजोर हुँदै गइरहेकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । 

बिहीबार पाकिस्तानमा १ अमेरिकी डलरको खरिददर २६५ र बिक्रीदर २६७ पाकिस्तानी रुपिया रहेको छ । पाकिस्तानसँग अहिले विदेशी मुद्राको सञ्चिति निकै कम छ । पाकिस्तानसँग २.९ अर्ब अमेरिकी डलर मात्र सञ्चिति रहेको र त्यसले १६÷१७ दिनको मात्र आयात धान्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

पाकिस्तानमा चुरोट, पेयपदार्थ र सिमेन्टमा लाग्ने भन्सार दर पनि बढाइने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्