दाङमा दाउराको सट्टा ‘गुइँठा’

बिहीबार, फागुन ४, २०७९

तुलसीपुर– दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ ।  

दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताए । ‘दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ,’ उनले भने, ‘गुइँठा सजिलो लाग्छ ।’ 

गाई, गोरु, भैँसी र राँगाको गोबरमा पराल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले दाउराकै काम गर्ने भएकाले थारू समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दैआएका छन् । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् ।

अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन बढेको छ । एक बिटा गुइँठा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताए । 

गुइँठाको खरानी खेतीपातीमा मलका लागि प्रयोग हुन्छ । ‘गुइँठामा पकाएको खाना मिठो हुन्छ’, तुलसीपुर–१२ का  खुसीराम चौधरीले  भने ।

खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उनको भनाइ छ ।  

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्