युवालाई गाउँमै राख्न लोकसेवाको निःशुल्क कक्षा

बुधबार, फागुन ३, २०७९

रेसुङ्गा– युवालाई गाउँमै रोक्नका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्थायी जागिरका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । 

लोकसेवा आयोग र शिक्षा सेवा आयोगमा आकर्षित गर्नका लागि गाउँका ४६ युवालाई १८ दिने निःशुल्क कक्षा दिएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए ।

पहिलो चरणका परीक्षामा सहभागी र यसतर्फ आकर्षित गर्न अभिमुखीकरण गरी विभिन्न चरणमा कार्यक्रम चलाइएको हो ।   

कक्षामा मुख्य गरेर पृष्ठपोषण प्रदान गरिएको छ । सहभागी प्रशिक्षर्थी मञ्जु पुन आफूहरू यही कुरा सिक्न तम्घास, बुटवल र काठमाडौँ जान नपरेकामा खुसी भइन् । अर्का प्रशिक्षार्थी ईश्वरी पौडेलले गाउँपालिकाको रचनात्मक कामबाट आफूहरू गाउँमै बसेर अभिमुखीकरणका कक्षा लिन पाएको बताइन् ।

सहभागी प्रशिक्षार्थीले यस्तै कक्षा आगामी दिनमा पनि चलाउनुपर्ने बताएका छन् ।  

प्रशिक्षकका रूपमा गाउँपालिकाका अधिकृतस्तरका कर्मचारी रहेका थिए । गाउँपालिकाका अध्यक्ष युवराज केसीले चन्द्रकोट क्षेत्रमा लोकसेवा र शिक्षक सेवामा कम आर्कषण रहेकाले आफूहरूले निःशुल्क कक्षा सञ्चालन गरेको बताए ।

‘हाम्रो भूगोलबाट निजामती र शिक्षक कर्मचारीमा कम आकर्षण छ’, उनले भने, ‘बाध्यताले बाहिर पढ्न जाने बाध्यताको अन्त्य गरेका हौँ ।’ उनले पहिलो चरणमा निःशुल्क कक्षा सकिए पनि थप कार्यक्रम ल्याउने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २१:५५
प्रतिक्रिया दिनुहोस्