नेभिगेशन
समाज विविध

आयुर्वेद संसारकै साझा उपचार पद्धति : राष्ट्रपति

दाङ– राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले ऋषिमुनिहरूले नासोका रूपमा छाडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरूको संरक्षण गर्नु नेपालीको कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरू पनि लाग्नुपर्नेमा जोड दिइन्  ।  

दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि आज यहाँ आएकी राष्ट्रपति भण्डारीले सो धारणा राखेकी हुन् । 

उनले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहेको  स्मरणसमेत गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व. मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेम जस्ता विशेष गुण विद्यमान थिए ।’ 

दाङ उपत्यका नेपालको ठुलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठुलो योगदान रहेको स्थानका रूपमा पनि चिनारी रहेको बताउँदै उनले आफू धेरै पटक दाङ आएको स्मरण गरिन् । 

नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेकोसमेत उनले बताइन् । उनले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु यहाँका नागरिकका लागि सौभाग्यको कुरा भएको सुनाइन् ।

राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरू उत्पादनमा लाग्नुपर्ने बताइन् । साथै उनले शिक्षण भवन उद्घाटनसँगै यसले आयुर्वेद विषयका कैयौँ स्नातक उत्पादन गर्ने काममा सघाउन पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।

उनले विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गरिन् । 

उनले आयुर्वेद उपचार पद्धति नेपालको पुरानो उपचार पद्धति भएको र यसलाई कोरोना भाइरसका बेला मानिसहरूले अवलम्बन गरेबाट पनि यसको महत्व विश्वमै बढेको स्पष्ट पारिन् ।

पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रूपमा आयुर्वेदलाई लिने गरिएको समेत उनको भनाइ थियो ।

आयुर्वेद, योग, ध्यानलगायत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अनेकौँ उपचार पद्धतिको खोज अनुसन्धानका लागि पनि संस्कृत विश्वविद्यालय क्रियाशील हुनुपर्ने उनको सुझाव थियो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध