टर्कीए–सिरिया भूकम्पः मृतकको संख्या ४१ हजारभन्दा बढी पुग्यो

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –टर्कीए र छिमेकी सिरियामा गएको भूकम्पमा परी  मृत्यु हुनेहरूको संख्या ४१ हजारभन्दा बढी पुगेको छ । यस्तै दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।  
खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार ४१८ जना तथा सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको छ । टर्कीएमा ८ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । 
टर्कीएमा २१५ भन्दा बढी परकम्प महसुस भएको छ । टर्कीएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।   
गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।  

टर्कीको तुलनामा सिरियाको स्थित दयनीय बनेको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले दुवै देशका करिब २ करोड २६ लाख भूकम्प पीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताएका छन् । प्रतिकूल मौसम, स्वास्थ्य तथा सरसफाइको उचित व्यवस्थापन नहुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ ।  
विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । 
संयुक्त राष्ट्रसङ्घले आगामी ३ महिनासम्म सिरियामा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न ३९ करोड ७० लाख अमेरिकी डलर आवश्यक परेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग नगद सहयोग गर्न अपील गरेको छ । 
यसैबीच, दश वटा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले पठाएका मानवीय सहायता सामग्री बोकका मालबाहक ट्रक सिरिया पुगेका छन् ।
प्रारम्भिक आकलनअनुसार टर्कीमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झण्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । १ दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्