१७ लाख भारतीय नोटसहित युवक पक्राउ

मंगलबार, फागुन २, २०७९

जलेश्वर– महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ बस्ने महेन्द्र यादवका छोरा २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए ।

भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर सहरबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरको स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच सयको तीन हजार चार सय थान नोट ३४ बण्डलमा १७ लाख रुपैयाँसहित युवक महेशलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी उपरीक्षक मल्लले आफैँ मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरिएको हो । 

स्रोत नखुलेको भारतीय रुपैयाँ १७ लाख (नेपाली २७ लाख २० हजार) सहित पक्राउ परेका युवक महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २२:०१
प्रतिक्रिया दिनुहोस्