लागुऔषधसहित १३ जना पक्राउ

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठुलो मात्रामा नियन्त्रित लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागुऔषध २० हजार ३०० एम्पुल र १२ हजार ९५० नाइट्राभेट ट्याब्लेटसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौँ महानगरपालिका–१६ स्थित दलाछी टोल बस्ने सोलुखुम्बू घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागुऔषध र ४ लाख १७ हजार नगद बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए । 

शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दीपक तामाङ र नुवाकोटका लक्ष्मण बखती पनि संलग्न रहेको खुलेपछि उनीहरूलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

त्यस्तै, ब्युरोले त्रिभुवन विमानस्थलबाट थाई एयरलाइन्सको उडानद्वारा थाइल्यान्ड जान लागेका ४ जना थाई नागरिकलाई जाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको ब्युरोका प्रमुख खनालले बताए ।

त्यस्तै ब्युरोले काठमाडौँको सिनामंगलबाट ३९ ग्राम खैरो हेरोइनसहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हेरोइनसहित कोटेश्वरबाट १ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

pak11676372347.png

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्