नेभिगेशन
समाज विविध

लुटपाट र तोडफोडको क्षतिपूर्ति माग

१० कराेड क्षति भएकाे दाबी

काठमाडौँ– नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरूको प्रदर्शनका क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।

मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमवार गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनका क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घन्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले १५ घन्टा हुँदासम्म घटनाप्रति राज्य मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाए । 

उनले बसपार्कको ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले दिनुपर्ने बताए ।

सरकारले पसल लुटपाट गर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु माग गर्दै अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रूपैयाँ बराबरको क्षति भएको बताए । 

उनले सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति राज्यले दिनुपर्ने बताए । व्यवसायीहरूले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताए ।

त्यस्तै, महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ देखि ९ करोड रूपैयाँ बराबरको मोबाइल, पैसा र अन्य सामग्री लुटिएको बताए ।

घटनाबाट भएको क्षतिपूर्ति सरकारले दिने विश्वास रहेको बताउँदै उनले सामान्य व्यवसायीहरूले गरिखान समेत ठुलो समस्या आएको जनाए । 

राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको भन्दै उनले ल्होत्से मलमा रहेका एसिडिसी मोबाइल पसल र डायमन्ड स्टार इन्भेस्टमेन्ट गु्रप प्रालिमा दुइटा मोबाइल पसलमा नै लुटपाट भएको बताए । उनले केही चोरहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको पनि जानकारी दिए । 

त्यस्तै महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरे जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताए । 

सोमबार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र सटर फोरेर मोबाइल लुटिएको महासंघले जनाएको छ ।

पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियो सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सिसिटिभी फुटेजसमेत सार्वजनिक भएको छ ।

महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतमा ज्ञापनपत्र बुझाउने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध