नेभिगेशन
समाज विविध

निजामति प्रशासनः दुई सचिव अहिले खाली छन्, जेठमा अर्का ४ को–को थपिनेछन्?

काठमाडौं– निजामति कर्मचारीका विशिष्ट पद दुई सचिव अहिले रिक्त भए पनि सरकारले बढुवाका लागि पहल गरेको छैन। 

मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगको सिफारिसका आधारमा सचिव बढुवा गर्नुपर्छ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ५ सदस्यीय समिति हुन्छ। 

महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त सचिवको संख्या दुई पुगेको हो। 

वैशाख २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका थिए।

अब जेठमा थप चार जना अवकाशमा जानेछन्। सरकारले एकै पटक ६ सचिव बढुवा गर्ला कि रिक्त हुँदै गएकामा पदपूर्ती गर्ला भनेर हेर्न बाँकी रहेको छ। 

अनिवार्य अवकाशमा गएका दुवै सचिव प्रशासन सेवाका भएकाले बढुवा समितिको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बस्ने व्यवस्था कानुनमा छ। 

तर, बैठक अहिलेसम्म नबसेको आयोग अध्यक्ष निकट स्रोतले जानकारी दियो। 

जेठ महिनामा चार सचिव अवकाशमा जाँदैछन्। जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटवाल जेठ ६ गते तथा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रहेका रघुराम विष्ट जेठ २४ गते अनिवार्य अवकाशमा जाँदैछन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा जेठ २८ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यस्तै संघीय संसद सचिवालयमा कार्यरत सचिव सुदर्शन खड्का जेठ ३० गते अवकाशमा जाँदैछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध