बन्दले राजधानीको सार्वजनिक यातायात प्रभावित 

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– ट्राफिक जरिवाना बढाएको विरोधमा सोमबार यातायात मजदुरले आन्दोलन गरे । आन्दोलनका कारण नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुर र प्रहरीबीच झडप पनि भयो । 

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा अपरिचित समूहले आक्रमण गरेको भन्दै यातायात मजदुर आन्दोलित भएका थिए । पछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको लिएको थियो । 

त्यसैको विरोधमा यातायात व्यवसायी तथा मजदुरले मंगलबार सार्वजनिक सवारी साधन बन्द गरेका छन् । त्यसको प्रभाव राजधानीको अधिकांश ठाउँमा परेको छ । अहिले सडकमा सार्वजनिक सवारीहरू खासै गुडेको देखिँदैन ।

यसैबीच, सरकारले आन्दोलनरत यातायात मजदुरलाई मंगलबार वार्ताका लागि बोलाएको छ । आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए । 

यातायात व्यवस्था विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्