टर्की–सिरिया भूकम्प : ७ महिने शिशुको सातापछि जिवितै उद्धार

आइतबार, माघ २९, २०७९

काठमाडौँ –टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् ।

निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आइतबार बिहान ७ महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो । भूकम्पको करिब १ सातापछि पीडितहरूलाई जीवित उद्धार गर्न सफल भएकामा उनीहरूले त्यसलाई चमत्कार भन्दै हर्ष प्रकट गरेका छन् ।

दक्षिणी टर्कीमा केही परिवार हराइरहेका आफ्ना परिवारको खोजीमा उद्धारकर्मीसँगै जुटेका छन् । शोकाकुल अर्को परिवार चिहानमा परिणत खेतमा बिलौना गरिरहेको छ । उक्त खेतमा हजारौँ शव व्यवस्थापन गरिएको छ ।

२ करोड छब्बीस लाख प्रभावित

कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको ७ दशमलव ८ म्याग्निच्युडको पहिलो भूकम्प र त्यसको केही क्षणपछि त्यति नै शक्तिशाली अर्को परकम्पबाट तहसनहस भएको टर्की र सिरियाका २ करोड २६ लाख मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घले टर्कीए र सिरियाका ८ लाख ७० हजार भूकम्पपीडितलाई तत्काल तातो खाना आवश्यक परेको बताएको छ । विश्व संस्थाले सिरियामा ५३ लाख मानिस घरवारविहीन भएका अनुमान गरेको छ । भूकम्पले दर्जनौँ अस्पताल ध्वस्त भएका छन् । 

उद्धारकर्मीहरूले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सिरिया र टर्कीमा २९ हजार ११७ जनाको मृत्यु भएको छ । टर्कीमा २४ हजार ६१७ जना तथा सिरियामा ४ हजार ५०० जनाले ज्यान गुमाएका छन् । संयुक्त राष्ट्रसङ्घले महाभूकम्पबाट ५० हजारले ज्यान गुमाएका अनुमान गरेको छ । गत सोमबारदेखि आइतबारसम्म टर्कीमा २ हजार ३५६ परकम्प महसुस गरिएको छ । 


 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार