राष्ट्रपतिज्यू ! मसँग माफी माग्नुपर्दैन

आइतबार, माघ २९, २०७९

हवल्दारसाबलाई कारबाही होइन, भूल सुधार गर्न चाहिने अनिवार्य तालिम दिइयोस्, बलीको बोको नबनाइयोस् । मैले उहाँलाई माफ गरिसकेँ । सायद उहाँले पनि मलाई माफ गरिसक्नु भो ।

गल्ती सबैबाट हुन्छ, माफी पनि दिइन्छ । तर, माफीले बद्नियत र अज्ञानतालाई बदल्न सक्दैन । त्यसैले कसै न कसैले यस घटनाको जिम्मेवारी लिनैपर्छ ।

विवादलाई कसरी शान्तिपूर्ण तरिकाले समाधान गर्न सकिन्छ भन्ने ज्ञान नभएको, व्याटन चलाउँदा कहाँ हान्नुहुँदैन भन्ने ज्ञान नभएको, सम्भवतः मानसिक तनाबबाट गुज्रिरहेको व्यक्तिलाई ड्युटीमा खटाउनु भनेको सम्बन्धित नेतृत्वको अक्षमता हो ।

अनि एउटा गल्ती भइसक्दा पनि पुनः स्वास्थ्यकर्मीमाथि लाठी बर्साउने र बन्दुक तेर्स्याएर निर्घात कुटपिट गर्ने कार्यले ड्युटीमा खटाउनेहरूको नियत, समन्वय र नेतृत्वबारे नै प्रश्न खडा गर्छ ।

यसबारे भिभिआइपी सवारीको मुख्य हाकिमसँग स्पष्टीकरण लिइयोस् । चित्तबुझ्दो जबाफको आशा राखेको छु । दिन नसके गृह, स्वास्थ्य र एनएमएले तिनलाई कारबाहीको दायरामा ल्याउने हिम्मत राखून् ।

अनि सम्माननीय राष्ट्रपतिज्यू, एक जना नवनिर्वाचित माननीयज्यूले हजुरले मसँग माफी माग्नुपर्छ भन्नु भएको रहेछ, त्यो पर्दैन । राष्ट्रपति भनेको हामी सारा नेपालीको संरक्षक/अभिभावक हो । सो पदप्रति मलगायत मेरो सम्पूर्ण फ्रेटर्निटीको सम्मान र निष्ठा सधैँ रहनेछ ।

हजुरलाई एउटै मात्र अनुरोध, यो भिभिआइपी सवारी प्रणाली हटाइदिनुहोस् । जनता र सुरक्षा संयन्त्र दुवैले धेरै दुःख पाइसके । हिजोको सवारीमा त्यति तडकभडक नहुँदो हाे त कुनै अप्रिय घटना हुने नै थिएन ।

हिजोको समस्याको मूल जरो भनेकै पिक आवरमा भिभिआइपीको सवारी हुन पुग्यो । सम्माननीयज्यू, बचेका केही दिन के सबैको श्राप र गाली खेपेर शीतल निवासमा बिताउने हो र ? परिवारसँग 'चिल' गर्नुहोस् । 

अनि माथि उल्लेखित विभिन्न पदमा आसीन सबै हाकिमहरू एवं सम्माननीय राष्ट्रपतिज्यू स्वयंलाई पनि जिकिर गर्न चाहन्छु, आज राष्ट्रमा त्यस्तै संकट आइपरेमा हजुरको विकल्प छ, मेरो छैन ।

नपत्याए डाक्टर साथीभाइ, इष्टमित्रहरूलाई सोध्नुहोला । हजुरको पद हो, आज छ भोलि छैन । म त डाक्टर हुँ, मेरो त जीवनभरको कर्म नै यही हो ।

निश्चिन्त हुनुहोस, राज्यले टाउको नफुटाउने र औँला नभाँच्ने भए म अझै पारंगत हुँदै जानेछु । दम्भ होइन, यथार्थ हो ! सरकारी सेवामा नै छु, भेट नहोला भन्न सकिन्न । 

धेरै साथीभाइ सहकर्मीको ठम्याइ चाहिँ म डाक्टर जस्तो देखिन्नँ, डाक्टर जस्तो लुगा लगाउँदिनँ त्यसैले पिटिएँ ।

अब अनुहार र लुगाकै भर लाग्ने हो भने त राष्ट्रपति भनेरै पनि कसरी छुट्याउने ? आइडी त देखाउन पाइन्छ नि ! अनि त्यो पनि नहेरेपछि कसको के लाग्छ ?

अनि साइकल चढेकाले पनि प्रहरीले पत्याएनन् होला भन्ने अड्कल गरियो । गाडी चढ्ने सल्लाह दिए । फोटोमा स्वर्गीय श्रद्धेय नेता मदन भण्डारी र उनको साइकलको फोटो । (नेकपा एमालेका नेता स्वर्गीय मदन भण्डारी साइकल चढेकाे फाेटाे राखिएकाे छ ।)

आज उनी जीवित भएका भए सबैलाई सकस पर्ने गरी भिभिआइपी सवारी खोज्थे होलान् त ? अनि सम्माननीयज्यू हजुर पनि कहिलेकाहीँ साइकल चढ्नुस्, बाहिर सडकमा नभए शीतल निवासभित्रै भए पनि, स्वास्थ्यका लागि राम्रो हुन्छ । 
 

(डा सिंहको सामाजिक सञ्जाल फेसबुक वालबाट साभार)

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्