जलवायु परिवर्तनको असरले हिउँदे वर्षा भएन

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ –जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरूले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउन सुझाव दिएका छन् । जलवायु परिवर्तनका कारण विगतको तुलनामा यसपटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरूको भनाइ छ । 

देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्या उत्पन्न हुन सक्नेप्रति सरकारलाई सचेत गराएका हुन् । विज्ञहरूले सरकारले हिउँद याममा हुने खाद्यान्नको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । हिउँदे अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरूले बताए । 

न्युज एजेन्सी नेपालसँग जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नको सुरक्षामा जोड दिनुपर्ने बताए । उनले फागुन १६ गतेसम्मलाई हिउँदको अवधिको रूपमा मान्ने गरिए पनि सो अवधिभित्र पनि वर्षा हुने सम्भावना नरहेको बताए । हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आगामी दिनमा जलवायुजन्य विपदको जोखिमसमेत बढेर जाने भएकोले सरकारले समयमा नै विपद पूर्व सूचना र विपद पूर्व तयारी गर्नुपर्ने आवश्यक रहेको बताए । 

उनले हिउँदमा वर्षा नहुँदा जीविकोपार्जनमा समस्या पर्नुका साथै बाली, पारिस्थितिक प्रणाली, वन सम्पदामा समेत असर गर्ने बताए । उनले हिउँदे वर्षा नहुँदा वायु प्रदूषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको बताए । विज्ञ डा. उप्रेतीले सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुका साथै हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने बताए । 

उनले समुन्द्र सतहको तापक्रम औषतभन्दा कम हुनु, पश्चिमी वायु नवहनु, प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा वायु कमजोर हुनुले पनि नेपालमा वर्षा हुन नसकेको जानकारी दिए । उप्रेतीले समुन्द्रको सतहको तापक्रम ५० वर्ष पछिकै कम रहेको उल्लेख गरे ।

‘मंसिर १५ देखि फागुन १६ को अवधि हिउँदे अवधि हो । यस अवधिमा औष्सत वर्षा ६०.१ मिलिमिटर हुनुपर्ने हो । तर, अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको छ । जुन १३.१ प्रतिशत मात्रै हो । यो भनेको लगभग ८६.९ प्रतिशत वर्षा भएको छैन । त्यस्तो अवस्थालाई खडेरीको अवस्था भनिन्छ’ उनले भने, ‘५० प्रतिशतभन्दा बढी रेनफल डेफसेन्सी भयो भने एक्यूट डाउटको अवस्था भनिन्छ । फागुन १६ सम्म पनि कडा खालको वर्षा हुने सम्भावना छैन । त्यो नदेखिनुको कारण समुन्द्र सतहको तापक्रम अहिले औषत भन्दा कम छ ।’

भूमध्य सागरमा जुन प्रणाली विकास भएर पश्चिमी वायु वहनुपर्ने त्यो नभएको र पश्चिमी वायु जति बहनुपर्ने हो त्यसको फिक्वेन्सी पनि घटेको उनले स्पष्ट पारे । 

‘पश्चिमी वायु पनि कमजोर हुनु, भूमध्यसागको सिस्टम बन्नुपर्ने हो जसले पश्चिम वायुलाई प्रभावित गर्छ, त्यहाँ पनि कमजोर हुनु र प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा पनि कमजोर हुनु अहिलेको अवस्था आउनुको कारण हो’, उनले अगाडि थपे, ‘अहिलेको अवस्थामा लालिना कण्डिसन भन्छ । यो भनेको समुन्द्रको सतहको तापक्रम ५० वर्षभन्दा यताको अहिले कम छ । ३० वा त्यो भन्दा बढी समयमा कुनै कुरा औसतभन्दा कम भयो अथवा औसत वा त्योभन्दा माथि भयो भने त्यो जलवायु परिवर्तनको कारक हो ।’

वाष्पीकरण भएर आउने बाफ नै नबन्दा वायुमण्डलको हावा कमजोर भएको उनी बताउँछन् । ‘पश्चिमी वायु नै बनेन । पानी र हिउँ पार्ने सिस्टम नै भएन । यो सुख्खा खडेरीको अवस्था हो । यसले हिउँदो बाली, पारिस्थितिय प्रणाली, वन सम्पदादेखि सबैमा यसको असर हुन्छ’, उनी भन्छन्, ‘त्यो असर भनेको हाम्रो जीविकोपार्जनमा पर्ने असर हो । यसले ल्याउने असर भनेको होल हाइड्रो लोजिकल सिस्टम अर्थात पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पति हुने नदीनालामा पानी कम हुन्छ ।’

यो वर्ष हिमाली, उच्च पर्वतीय क्षेत्रमा कर्णाली, मुगु, डोल्पालगायत सुदूरपश्चिमको पहाडी क्षेत्रमा थोरै मात्रामा भए पनि पानी परेको थियो । तर, काठमाडौंलगायत ठाउँमा पानी नपरेको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्