नेपाल साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता

बङ्गलादेश अपराजित रहँदै च्याम्पियन बन्यो
बिहीबार, माघ २६, २०७९

ढाका–बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो ।

बङ्गलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।

बङ्गलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरिन् । राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । 

प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए । प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो ।  यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । 

त्यस्तै नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबर खेलेको बङ्गलादेशले भुटानलाई ५–० गोलअन्तरले पाखा लगाएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २०:४८
प्रतिक्रिया दिनुहोस्