कस्सिँदाे राजनीतिक गाँठाे

राष्ट्रपतिमा कांग्रेस रणनीति : सके आफ्नै उम्मेदवार, नसके एमालेलाई राेक्ने

प्रचण्डकाे 'लाइन'मा छलफल गर्दै दलहरू
बिहीबार, माघ २६, २०७९

काठमाडौँ– नेपाली कांग्रेसले आगामी राष्ट्रपतिका लागि आफ्नो दलको उम्मेदवार जिताउन नसके पनि एमाले उम्मेदवारलाई रोक्न रणनीति अख्तियार गर्ने भएको छ ।

कांग्रेसको उम्मेदवार जिताउन नसकिने परिस्थिति निर्माण भएमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बन्न नदिने रणनीति कांग्रेसले बनाएको हो ।

खास गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्रलाई राष्ट्रपति बनाउनु नहुनेमा कांग्रेसमा एकमत देखिएको छ । एमाले अध्यक्ष ओलीको विश्वास पात्रलाई नयाँ राष्ट्रपति बनाउन हुँदैन भन्ने मान्यतामा रहेका दलहरूसँग सहकार्य गरी एमाले उम्मेदवार रोक्ने रणनीतिमा कांग्रेस पुगेको हो ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवार खडा गरेर जिताउन सकिने अवस्था नभएमा एमाले अध्यक्ष ओलीको विश्वास पात्र रोक्ने दोस्रो विकल्पमा गृहकार्य भइरहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

‘सकेसम्म कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने र त्यो उम्मेदवारलाई जिताउने गरी प्रयास गरिरहेका छौँ, कांग्रेसको उम्मेदवारलाई जिताउन नसकिने तर एमालेको उम्मेदवारले जित्ने अवस्था देखियो भने अर्काे रणनीतिमा जानुपर्ने हुन्छ भनेर गृहकार्य गरिरहेका छौँ । अर्काे रणनीति भनेको एमाले अध्यक्ष ओलीको विश्वास पात्रलाई राष्ट्रपति हुनबाट रोक्ने भन्ने नै हो,’ पार्टी सभापति शेरबहादुर देउवा निकट ती कांग्रेस नेताले सिएन नेपालसँग भने ।

कांग्रेसले अन्य दलहरूसँग कुरा गर्दा अहिले दुइटै विकल्पमा कुरा गर्न थालेको स्रोतको भनाइ छ । पहिलो विकल्प भनेको कांग्रेसको उम्मेदवारलाई भोट दिनुस् भन्ने हो भने दोस्रो विकल्प भनेको एमालेबाहेकको साझा उम्मेदवार तय गरौँ र त्यसलाई जिताऔँ भन्ने हो ।

‘कांग्रेसको उम्मेदवार खडा गरेर राष्ट्रपति बनाउन नसक्ने भन्नेमा अन्य दल पनि स्पष्ट भएका हुन् भने सबैका लागि साझा उम्मेदवार हुन सक्ने व्यक्तिका बारेमा पनि छलफल गरौँ भनेर हामीले कुरा बढाइरहेका छौँ, राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र सबैलाई स्वीकार्य हुने व्यक्ति राष्ट्रपति बनाउने हो भने त्यसमा कांग्रेसको पनि समर्थन रहन्छ, हामीले अन्य दलहरूसँग यो विषयमा पनि छलफल थालेका छौँ,’ ती नेताले भने ।

कांग्रेस वृत्तबाट आएको पछिल्लो प्रस्ताव प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतदेखि उठाउँदै आएको विषयसँग सम्बन्धित छ । प्रधानमन्त्री प्रचण्डले विगतदेखि नै राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरिनुपर्ने बताउँदै आएका छन् ।

राष्ट्रपतिका लागि माओवादी केन्द्रको सहयोग प्राप्त हुने आशा कांग्रेसको थियो । तर, माओवादीबाट सहयोग प्राप्त हुनेमा कांग्रेस कम विश्वास गर्न थालेको छ ।

एउटा गठबन्धनबाट हटेर अर्काे गठबन्धन निर्माण गरी सरकार बनाएको २ महिनाभित्रै माओवादीले फेरि कित्ता परिवर्तन गर्ला भनेर विश्वास गर्न सकिने अवस्था नदेखिएको ती नेताको भनाइ छ ।

‘पुस १० गते बिहानसम्म माओवादी हामी (कांग्रेस) सहितको गठबन्धनमा थियो, त्यही दिन दिउँसो बनेको एमाले गठबन्धनमा गएर प्रचण्ड प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री बनेको २ महिनामै माओवादीले नयाँ गठबन्धन टुट्न सक्ने गरी हामी (कांग्रेस) लाई सहयोग गर्ला र हाम्रो उम्मेदवारलाई राष्ट्रपति बनाउन सकिएला भन्ने आधार निकै कम देखिन थालेको छ,’ ती नेताले थपे ।

एमालेको मुख्य सहयोगमा सरकारको नेतृत्व गर्न पाएको माओवादीले एमाले उम्मेदवारलाई भोट नहाली कांग्रेस उम्मेदवारलाई सहयोग गर्छ भनेर विश्वास गर्नु भनेको सामान्य राजनीति पनि नबुझ्नु हो भन्ने ती नेताको तर्क छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा आफूहरूलाई सहयोगको वचन पनि नदिएको उनको दाबी छ ।

यद्यपि, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई पनि स्पेस दिन खोजेको उनको दाबी छ ।

‘प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्छ भनेर राखेको तर्क नै कांग्रेसलाई पनि स्पेस दिनका लागि हो, कांग्रेसलाई स्पेस दिनु थिएन भने उनले पुस १० को सहमति अनुसार नै एमालेलाई सहयोग गर्ने भनेर सार्वजनिक रूपमै भन्थे होलान्,’ कांग्रेसका अर्का एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्डले हाम्रा सभापतिसँगको भेटमा पनि राष्ट्रपतिमा कांग्रेसलाई स्पेस दिन सकिने मात्रै भनेका रहेछन्, त्यसैले हामी पनि सोहीअनुसार अघि बढ्नुपर्छ भन्ने रणनीतिमा छौँ ।’ 

कांग्रेस सभापति देउवानिकट नेता श्याम घिमिरे पनि राष्ट्रपतिमा माओवादीले सहयोग गर्ला भनेर ढुक्क हुन सकिने अवस्था नरहेको बताउँछन् ।

‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने कुरा गर्नुभएको छ । राष्ट्रिय सहमतिको राष्ट्रपति कांग्रेसको उम्मेदवार पनि हुन सक्छ । तर, अहिलेसम्मको परिस्थिति हेर्दा माओवादीले हाम्रो उम्मेदवारलाई सहयोग गर्छ भनेर ढुक्क हुन सकिने अवस्था छैन,’ घिमिरेले सिएन नेपालसँग भने ।

पुस १० मा प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेको केही समयपछि नै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेको थियो । सो समय पूर्वप्रधानन्यायाधीशदेखि सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिलाई नयाँ राष्ट्रपति बनाउन लागिएको भन्ने चर्चा पनि चलेको थियो ।

यद्यपि, त्यसको केही समयपछिदेखि नै राजनीतिक व्यक्ति नै नयाँ राष्ट्रपति बन्ने राजनीतिक दलहरूले बताउँदै आएका छन् ।

पुस १० मा नयाँ सरकार गठनका लागि भएको एमाले नेतृत्वको गठबन्धनका दलहरूको सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री पाउने तथा प्रतिनिधिसभाको दोस्रो ठुलो दल नेकपा एमालेले सभामुख र राष्ट्रपति पाउने भन्ने थियो ।

सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने एमाले नेता देवराज घिमिरे सभामुख बनेका छन् । 

सत्ता भागबन्डामा एमालेले राष्ट्रपति पाउने सहमति नभएको भन्दै माओवादी केन्द्रका केही नेताले राष्ट्रिय सहमतिका आधारमा नयाँ राष्ट्रपति चयन गरिनुपर्ने बताउने गरेका छन् ।

एमाले नेताहरू भने राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले सो सहमति पालना हुनुपर्ने बताइरहेका छन् ।

कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान गरेको व्यक्तिमा सहमति गरे एमालेलाई पनि त्यसमै सहमत गराउन सकिने आशा प्रधानमन्त्री प्रचण्डको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्