नेपाली भाषीलाई ‘विदेशी’ भनिएको विरोधमा आज सिक्किम बन्द

बुधबार, माघ २५, २०७९

काठमाडौँ –भारततको सर्वोच्च अदालतले सिक्किममा नेपाली भाषीलाई आप्रवासीको परिभाषाभित्र राखेपछि बुधबार सिक्किम बन्द गरिएको छ । 

‘सिक्किमका नेपाली आप्रवासी हो’ भन्ने भारतीय सर्वोच्च अदालतको फैसलाविरूद्धमा बुधबार सिक्किम बन्द गरिएको हो ।

सर्वोच्चको फैसलाविरुद्ध जोइन्ट एक्सन कमिटी (ज्याक) को आह्वानमा सिक्किम बन्द गरिएको हो । 

अदालतको फैसलाको विरोध गर्दै विभिन्न दलका नेता तथा कार्यकर्ता र सिक्किमका नेपाली भाषीहरू सडकमा उत्रिएका छन् । बन्दका कारण सिक्किमका अन्तिम बजार देन्ताम, पहिलो राजधानी यासोम र गेजिङ्का पनि ठप्प छ ।

बन्दका क्रममा आपातकालीन सेवाबाहेक अन्य सबै पसल र व्यापारिक प्रतिष्ठानहरू ठप्प भएको छ ।

यसअघि दिल्ली पुगेका सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको लाञ्छनालाई सधैँका लागि मेटाउने बताएका थिए । 

सिक्किमका पुराना बासिन्दाहरूको आयकर छुटसम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले त्यहाँका नेपाली भाषीलाई ‘विदेशी’ भनेर परिभाषित गरेको थियो ।

सन् १९७५ अघिदेखि सिक्किममा बसोबास गर्नेहरूको संस्था एसोसिएसन अफ ओल्ड सेट्लर्स अफ सिक्किमले अन्य समुदायलाई जस्तै आफूहरूलाई पनि आयकर छुटको व्यवस्था गर्न भारतको सर्वोच्च अदालतमा सन् २०१३ मा मुद्दा हालेका थिए । त्यही मुद्दामाथि फैसला गर्दै अदालतले गत जनवरी १३ मा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भनेर फैसला गरेको हो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्