चोरी र आगजनीका घटना बढेपछि व्यवसायीले मागे सुरक्षा 

मंगलबार, माघ २४, २०७९

दमक–दमकको नमूना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनीजस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन व्यवसायीले माग गरेका छन् ।

दमक उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्यसमेत रहेकी व्यवसायी नेत्री कविता अधिकारीको नेतृत्वमा सो क्षेत्रका व्यवसायीको एक समूहले नगर प्रमुख रामकुमार थापालाई भेटेर तत्काल सुरक्षाको प्रत्याभूति दिलाउन ध्यानाकर्षण गराएको हो । 

आइतबार राति त्यहाँस्थित बेन्जु राईले सञ्चालन गरेको फेन्सी पसलमा चोरी हुनुका साथै आसपासका अन्य पसलमा समेत तोडफोड र लुटपाटको प्रयास भएको पाइएको उल्लेख गर्दै त्यस स्थानमा व्यावसायिक सुरक्षाको माग राखिएको उल्लेख छ । 

नगर प्रमुख थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै व्यवसायीले भर्खरै सोही ठाउँमा भएको आगजनीको घटना र लगत्तै भएको चोरी तथा लुटपाटका घटनाले व्यवसायी त्रास र मारमा परेको भन्दै सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गरिएको जनाइएको छ । 

नगर प्रमुख थापाले बजारमा बढ्दो असुरक्षा र यसखाले घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै तत्कालै सोबारे अनुसन्धान अघि बढाएर घटनामा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउन र प्रभावकारी रात्रिकालीन गस्ती बढाउन स्थानीय प्रहरी प्रशासन प्रमुखसँग आफूले कुराकानी गर्ने जानकारी दिए । 

उनले दिगो सुरक्षा र बजार व्यवस्थापनका लागि दमक उद्योग वाणिज्य सङ्घ, स्थानीय बजार व्यवस्थापन समिति, प्रहरी प्रशासन र सम्बन्धित वडा कार्यालयका प्रतिनिधिको संयुक्त प्रयासमा ठोस योजनाको खाका ल्याइने प्रतिबद्धतासमेत जनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:२३
प्रतिक्रिया दिनुहोस्