नेभिगेशन
समाचार

सुदूरपश्चिम सरकार संकटमा, नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।

मंगलबार डिल्लीबजारमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अग्रसरतामा डिल्लीबजार कारागारभित्र बसेको बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ र सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरी सहभागी थिए । सोही बैठकले यस्तो निर्णय गरेको हो ।

कारागारमा रहेका संरक्षक चौधरीलाई रिहा गरेमा आफूहरूले विश्वासको मत दिने अन्यथा नदिने निर्णय पार्टीले गरेको छ ।

पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णयसँगै सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने पक्का भएको छ । 

मुख्यमन्त्री रावलले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन् । रावल पुस २६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । 

नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

एमाले नेता रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

एमाले, माओवादी केन्द्रसहित दल मिलेर बनेको सत्ता गठबन्धनका प्रधानमन्त्रीसहित अन्य मुख्यमन्त्रीले विश्वासको मत पाए पनि रावलले भने नपाउने सम्भावना बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार