भारतलाई ३–१ले हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा

मंगलबार, माघ २४, २०७९

काठमाडौँ – भारतलाई ३–१ ले पराजित गर्दै बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै ३ गोल गर्‍यो ।

पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।

नेपालले ३ खेलबाट २ जित र १ हारसहित ६ अंक बटुलेको छ ।

भारतले १ जित १ हार र १ बराबरीबाट ४ अंक मात्र जोड्न सकेको छ । हारपछि भारत फाइनलबाट लगभग बाहिरिएको छ । भारतलाई फाइनलमा पुग्न भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्ने हुन्छ ।

तर यसअघिका २ खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्