सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिएन : चन्द्र ढकाल

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।

मंगलबार सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ ।

नेपाली इन्जिनियरहरूले बनाएकाे प्रविधि विदेशीको तुलनामा कम नरहेको भन्दै ढकालले नेपालका प्रविधि उत्पादन गर्ने प्राविधिकहरू कमी नभएको पनि बताए ।

नेपालले प्रविधिको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको भन्दै उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित प्रविधिलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको पनि धारणा राखे ।

‘नेपाली उत्पादनमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिन सक्ने भन्ने किसिमको नीति सरकारको छ, त्यही अनुरूप सरकारले प्रविधि उत्पादनलाई आन्तरिक उत्पादन जस्तै प्राथमिकता दिनुपर्छ,' उनले भने, 'सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयरलाई, टेक्नोलोजीलाई सरकारका हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैन, तबसम्म यो क्षेत्रले फड्को मार्दैन ।’

उनले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्