साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको सानदार जित

अमिषा कार्कीले पूरा गरिन् ‘ह्याट्रिक’
आइतबार, माघ २२, २०७९

काठमाडौँ– साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो । 

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

आज भएको नेपालको जितमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने  कप्तान प्रिती राईले  एक गोल थपिन् । खेलको १९औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् ।

त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन् । 

त्यसपछि खेलको ६१औँ मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो । त्यस्तै खेलको ६२औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो ।

प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भूटानको सहभागिता रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्