पर्साका भूमिसुधार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका जिल्ला भूमिसुधार तथा मालपोत प्रमुख कमोद तिवारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पर्साको बेल्वास्थित युवा स्पोर्ट्स क्लबका नाममा रहेको १ कठ्ठा ५ धुर जग्गा गलत लिखत तयार पारी व्यक्तिका नाममा कायम गरेको कसुरमा अख्तियारले तिवारीसहित बदनियतपूर्ण रुपमा कागजात तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, खरिदारद्वय शिवप्रसाद साह तेली र रिन्ता कुमारी तथा जग्गा हत्याउने शेषसफी अहमदविरुद्ध कैद र जरिवानाको मागदावीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्लवका नाममा रहेको जग्गा गैरकानुनी रुपमा स्रेस्ता कायम गरेर अहमदका नाममा पु¥याएको कसूरमा कर्मचारी र जग्गा हात पार्ने व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा १२ अनुसार सजाय मागदावी लिएर अदालतमा मुद्दा दायर भएको हो ।

ऐनको दफा ९ मा ‘कुनै लिखत तयार गर्ने कर्तव्य भएको कुनै राष्ट्रसेवकले नेपाल सरकार वा सरकारी निकाय वा सार्वजनिक संस्था वा कुनै व्यक्तिलाई हानि पु¥याउने बदनियतले त्यस्तो कुनै लिखत तयार गरेमा निजलाई कसूरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने’ उल्लेख छ ।

त्यस्तै दफा १२ मा ‘कुनै राष्ट्रसेवकले सरकारी वा सार्वजनिक संस्थाको कागजात लुकाएमा वा कुनै तरिकाले नोक्सान पु¥याएमा वा नष्ट गरेमा निजलाई कसूरको मात्रा अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यसरी लुकाएको, नोक्सान पु¥याएको वा नष्ट गरेको कारणबाट कुनै किसिमको हानी नोक्सानी भएको रहेछ भने सो समेत असुल उपर गरिनेछ’ भनिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्