भलामखोरका घरघरमा खानेपानी धारा

शुक्रबार, माघ २०, २०७९

 

पोखरा–   लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा¬–२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल १ करोड १९ लाख ३२ हजार आठ सय रुपैयाँ लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो ।

गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत १ करोड ८ लाख ४८ हजार र १० लाख ८४ हजार आठ सय रुपैयाँ बराबरको स्थानीय जनश्रमदान परिचालन गरिको इक्राघारी विचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ निर्माण कार्य सुरु गरिएको आयोजना सम्पन्न भएसँगै उक्त स्थानका ९१ घरका ४५० परिवारलाई प्राकृतिक स्रोतको शुद्ध खानेपानी सुविधा पुगेको छ । ‘विश्वव्यापी पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीको अवसरमा सुरु गरिएको भए पनि निर्माण कार्यले निरन्तरता पाएको हो’, तिमिल्सिनाले भने, ‘प्रदेश खानेपानी कार्यालयको आर्थिक एवम् प्राविधिक सहयोग र उपभोक्ताको अथक प्रयासले योजना सम्पन्न भई खानेपानी सहज भएको हो ।’

बस्तीभन्दा एक हजार सात सय मिटर लम्बाइमा जङ्गलको पानीको स्रोतबाट दुई इन्चको पाइपमार्पmत ल्याइएको पानी ५० हजार र ३०÷ ३० हजार लिटर क्षमताका छुट्टाछुट्टै तीनवटा ट्याङ्कीमा पानी सङ्कलन गरी वितरणको व्यवस्था गरी भएको उनको भनाइ छ ।

एक गाग्री पानीका लागि जुकेपानी, भलामखोला र टारी कुवासम्म धाउनुपर्ने बाध्यता थियो । करिब २२ वर्षअघि नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको सहयोगमा एक इन्चको पाइपबाट पानी आएपछि केही सुविधा पुगे पनि हाल सोही योजनाको स्तरोन्नति गरेपछि हाल पानीको राम्रो सुविधा पुगेको छ । योजनाबाट ११५ सम्म धारा सञ्चालन गर्ने क्षमता रहेको बताइएको छ ।   

उपभोक्ता समितिका सचिव प्रजापति पौडेलका अनुसार बस्तीमा तीन हजारभन्दा बढी मिटर लम्बाइको वितरण पाइप विस्तार गरिएको छ । जङ्गलबीचको पानी घरमा आइपुगेपछि स्थानीय खुसियाली छाएको छ । खानेपानी वितरणलगायत मुहान सरसफाइ र रेखदेखका लागि स्थानीय उपभोक्ता बुद्धिबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

योजना सम्पन्न भएसँगै खानेपानी वितरणलाई व्यवस्थित गर्नका लागि कार्यालय भवनसमेत निर्माण गरिएको छ । भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय जसुका पौडेलले निःशुल्क प्रदान गरेको उपभोक्ता समितिका कोषाध्यक्षका माया जिसीले जानकारी दिए ।

भवनसँगै परम्परागत रूपमा उपयोग गरिएको तोरी पेल्ने कोल, कुटानी पिसानीका  ढिकी र जाँतोसमेत स्थापना गरी प्रदर्शन गर्ने योजना रहेको बताउँदै उहाँले त्यसका लागि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्