सन्दीपविरुद्धका कागजात झिकाउन आदेश

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धामा कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

पाटन उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छोड्न दिएको आदेशविरुद्ध महान्याधिवक्ता कार्यालयले सर्वोच्चमा निवदेन गरेको थियो ।

सोही मुद्दामा सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले लामिछानेविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले बिहीबार नाबालिग बलात्कारका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दर्ता भएको निवेदन फुयालको इजलासमा परेको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते नाबालिग बलात्कारको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा थुनामा पठाएको लामिछानेलाई पाटन उच्च अदालतले गत पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

उच्चले धरौटीमा छाडेलगत्तै लामिछानेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट संघ (क्यान)ले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

उच्चले धरौटीमा छाडेलगत्तै लामिछानेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट संघ (क्यान)ले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

आफूमाथि आरोप लागेपछि लामिछानेले सामाजिक सञ्जालमा नेपाल फर्किएर अनुसन्धानलाई सघाउने उल्लेख गरेका थिए । तर उनी करिब एक महिनासम्म लुकेका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेलाई फरार सूचीमा राख्दै ‘डिफ्युजन’ नोटिस जारी गरेपछि उनी असोज २० मा नेपाल फर्किएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्