किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ?

बुधबार, माघ १८, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको विवाद अदालतले निरुपण गरेपछि अहिले सामाजिक सञ्जालमा अनुराधा कोइरालाको नागरिकताबारे चर्चा भइरहेको छ । 

२०७४ माघमा बाग्मती प्रदेश प्रमुख नियुक्त हुँदा तत्कालीन सांसद सरिता गरीले कोइरालाको नागरिकतामाथि  प्रश्न उठाएकी थिइन् ।

कोइरालाको नागरिकताको प्रकृति वंशज हो कि अंगीकृत भन्ने विषयमा बेलाबेला प्रश्न उठ्ने गरेको छ । 

४ मंसिरमा भएको निर्वाचनपछि एक समय नेपालको राष्ट्रपति गैरराजनीतिक व्यक्तिलाई बनाउनुपर्ने बहस भएको थियो । त्यसबेला सम्भावित राष्ट्रपतिको नाममा कोइरालाको नाम आएको थियो । तर, त्यसबेला पनि उनको नागरिकताको विषयमा सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले सुनाएपछि सामाजिक सञ्जालमा कोइरालालगायत धेरै जनाको नागरिकता माथि प्रश्न उठाइएको छ । 

पछिल्लो समय कोइरालाको मात्रै होइन, सामाजिक सञ्जालमा कांग्रेस नेतृ सुजाता कोइराला, देवेन्द्रराज कँडेल, राजेन्द्र महतोलगायतकाे नागरिकताको सन्दर्भमा पनि प्रश्न उठाउन थालिएको छ ।

समाजिक सञ्जालमा चर्चा

नेपाली ट्विट नामक ट्विटर ह्यान्डलले सामाजिक सञ्जालमा कोइरालाको नागरिकताबारे मत सर्वेक्षण गराएको छ । एउटा पोल बनाएर उसले अनुराधा कोइरालाको नागरिकता विवादमा छ, यसका विषयमा उच्चस्तरीय छानविन हुनुपर्छ वा पर्दैन ? भनेर सोधिएको प्रश्नमा करिब ४ सय जनाले भोट गरेका छन् ।

जसमा ७७ प्रतिशत मत छानबिन आवश्यक छ भन्ने पक्षमा छ भने २३ प्रतिशत मत आवश्यक छैन भन्नेमा देखिन्छ । 

यस्तै, अर्का ट्विटर प्रयोगकर्ता राजकुमार रेग्मी पनि अनुराधा कोइरालाको नागरिकता छानबिन हुनुपर्ने माग गर्छन् । 

‘नेपालीका लागि दार्जीलिङ र बिहार या  सिक्किम र सिलगुडी उस्तै हो । भारत या अन्य देशका अंगीकृतले नागरिकता लिए पनि छानबिन हुनुपर्छ । जसको नागरिकतामा प्रश्न उठे पनि छानबिन गर्नैपर्छ । अनुराधा कोइरालाको पनि छानबिन हुनैपर्छ’ उनले लेखेका छन् । 

यस्तै, अर्का प्रयोगकर्ता प्रकाश तिमिलसिना पनि अनुराधा कोइरालाले कसरी वंशजको नागरिकता लिइन् ? भनेर प्रश्न गर्छन् ।

उनले ट्विटरमा अनुराधा सम्मानित व्यक्ति भएको बताउँदै भनेका छन्, ‘समाजसेवी हुन्, सम्मान गर्नुपर्छ । तर २००७ सालमा जन्मिएकी दार्जीलिङकी अनुराधा कोइरालाले ४३ वर्षपछि कसरी वंशजको नागरिकता लिइन्, शंका गर्न पाइन्न ?’

टपरे बाहुन नामका प्रयोगकर्ता पनि नागरिकताका विषयमा अनुराधा कोइरालाको नाम जाेड्छन् । उनले अनुराधा कोइराला मात्र नभएर अन्य केही व्यक्तिको नागरिकताको विषयमा पनि छलफल हुनुपर्ने भनेका छन् । 

टपरे बाहुन जस्तै, एनपी सरकार, मिस्टर केबी, पिचन्द निगम, हिम बस्नेतलगायत ट्विटर प्रयोगकर्ताले पनि अनुराधा कोइरालाको नागरिकताको विषयमा प्रश्न गरेका छन् । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको विषय सार्वजनिक भएपछि उनीहरूको यस्तो धारणा सार्वजनिक भएको देखिन्छ ।

ट्विटर प्रयोगकर्ता हिम बस्नेत लेख्छन्, ‘रवि लामिछानेको नागरिकतामाथि बारम्बार प्रश्न उठ्यो, सार्वजनिक गरे, बदर भयो, नयाँ नागरिकता लिए । अनुराधालगायतका कथित विशिष्टहरूको नागरिकताबारे बारम्बार प्रश्न उठ्दा आफूसँग भएको नागरिकता सार्वजनिक गरेको खै ?’

को हुन् अनुराधा कोइराला ?

बेचिएका महिलाको उद्धार र पुनर्स्थापनाको क्षेत्रमा काम गरेर सामाजिक क्षेत्रमा स्थापित नाम हो अनुराधा कोइराला । माइती नेपालकी संस्थापक उनले सन् २०१० मा ‘सिएनएन हिरो’को सम्मान पाएकी थिइन् । त्यसयता उनको अन्तर्राष्ट्रिय छवि पनि उँचो बन्दै आएको छ । 

कोइरालालाई सन् २०१७ मा भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मान गरेको थियो ।

२००९ साल वैशाख १ गते जन्मिएकी अनुराधाका बुबा प्रतापसिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन् । उनी बुबाआमासँगै आसाममा हुर्किएकी हुन् ।

कोइरालाको शिक्षादीक्षा पनि भारतमै भएको हो । उनले पश्चिम बंगालको कालिम्पोङमा १० कक्षासम्मको अध्ययन गरेकी हुन्  भने कलकत्तामा स्नातक अध्ययन गरेकी हुन् । 

कोइराला २०२१ सालमा नेपाल आएकी हुन् । काठमाडौं बसाइकै क्रममा कोइरालाको विवाह दिनेशप्रसाद कोइरालासँग भएको थियो ।

कोइराला नेपाल आउँदा भर्खरे अंग्रेजी शिक्षालाई प्राथमिकता दिने प्रचलन सुरु भएको थियो ।  अंग्रेजी भाषामा दख्खल भएकी उनले करिब २० वर्ष बोर्डिङ स्कुलहरुमा शिक्षण गरेर बिताइन् । 

कोइरालाले सन् १९९३ मा माइती नेपाल नामको गैह्रसरकारी संस्था खोलेर काम गर्न थालिन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्