नेपाल क्रिकेट संघका ७ जना केन्द्रीय सदस्यहरूले मागे अध्यक्षको राजीनामा

मंगलबार, माघ १७, २०७९

काठमाडौँ –नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यहरूले नेपाल टी–२० क्रिकेट लिगमा भएको फिक्सिङको विषय उठाउँदै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएर लिखित रुपमै राजीनामा मागेका हुन् ।

कार्यसमिति बैठकमा पनि उनीहरूले राजीनामा मागेका हुन् । अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

उनीहरूमध्ये ६ जना कार्यसमिति बैठक स्थलमै छन् भने अस्वस्थका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।

गत महिना सम्पन्न नेपाल टी–ट्वान्टी लिगमा देखिएको पछिल्लो विवाद कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै उनीहरूले आरोप लगाएका छन् ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग ८ वर्षका लागि गरिएको सम्झौताका विषयमा आफूहरुले पहिले नै पटक–पटक खबरदारी गरेपनि क्यान नेतृत्वबाट कुनै सुनुवाई नभएको उनीहरूको भनाई छ । त्यस्तै प्रतियोगिता सञ्चालनको जिम्मेवारी पाएका भारतीय कम्पनीका जतिन अहलुवालिया, अशोक मल्होत्रा र भानुभक्त सिग्देललाई समेत कारवाही गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्