प्रेम आचार्य आत्मदाह प्रकरण

कसैको मृत्युमाथि राजनीति बन्द गरौँ : राज्यमन्त्री कार्की

‘उनलाई ‘राज्य छ’ भन्ने अनुभूति दिलाउन भेट्न गएँ’
शुक्रबार, माघ १३, २०७९

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रेम आचार्यको मृत्युमाथि राजनीति नगर्न आगह गरेकी छिन् । 

संसद् भवनअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आइसियूमा गएर भेटेकी राज्यमन्त्री कार्कीले प्रोटोकल पालना नगरेको भनी आलोचना भइरहेको छ ।

सोही प्रसंगमा राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालमा लामो प्रष्टीकरण पेस गर्दै आत्मदाह गरेर मृत्यु शय्यामा रहेका आचार्यलाई ‘राज्य छ’ भन्ने अनुभूति दिलाउन आफू आइसियूमा भेट्न गएको बताएकी छिन् । 

‘राज्यले किन आफ्ना नागरिकहरूलाई अभिभावकत्व महसुस गराउन सकिरहेको छैन ? यसका समाधान के हुन सक्लान् ?’, उनले लेखेकी छिन्, ‘हामीले बचाउन नसकेको प्रेम आचार्यको मृत्युमाथि राजनीति गर्नु साटो अरू हजारौँ प्रेम आचार्यहरूलाई आत्महत्या र आत्मदाह गर्नबाट कसरी बचाउन सकिन्छ ? मानसिक स्वास्थ्यको के छ वस्तुस्थिति ? आउनुस् न त्यो बहस गरौँ ।’

अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । आइसियू प्रवेश गर्नुअघि आफूले सबै प्रोटोकल पूरा गरेको उनको दाबी छ ।

‘म आफू नै जनरल सर्जन हुँ, जो विगतमा बर्नसम्बन्धीकै बिरामीहरू पनि हेर्ने गरेको छु,’ उनले लेखेकी छिन्, ‘८० प्रतिशतभन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन, मेरो हातमा केही थिएन, मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श, आत्मीयता र अन्तिम घडीमै भए पनि थोरै आत्मबल ।’

‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेको यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छाड्दै छ’ भन्ने थाहा भएरै उनका आँखाहरू सधैँका लागि बन्द हुनुअगावै, उनका बोली सधैँका लागि रोकिनुअगावै, म उहाँलाई भेट्न पुगेकी थिएँ । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु,’ उनले लेखेकी छिन् ।

आइसियूमा भटेर आफूले तपाईंहरूका लागि हामी छौँ, राज्य छ भन्दा आचार्यले म बाँच्न चाहन्छु भनेको भन्दै उनले लेखेकी छिन्, ‘तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैँ सम्झिरहनेछ । किनकि ऊ अस्ताउनुअघि नयाँ बनेको सरकारको प्रतिनिधि आफैँले भेटेर ‘हामी छौँ नि’ भन्दै गर्दा ती व्यक्तिले ‘म बाँच्न चाहन्छु’ भने ।’
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्