जर्मनीको रेल आक्रमणमा ‘आतङ्ककारी समूहको सम्लग्नता देखिएन’ 

बिहीबार, माघ १२, २०७९

बर्लिन । जर्मनीमा बुधबार रेलमा भएको चक्कु आक्रमणमा आतङ्कवादी उद्देश्यको कुनै सङ्केत नदेखिएको जर्मनीका अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् । 

उक्त घटनामा दुई किशोरको मृत्यु हुनुका साथै अन्य कैयौँ यात्रु घाइते भएका थिए । 

उत्तरी शहर ह्याम्बर्ग र किएलबीचको रेलमार्गमा गुडिरहेकोे रेलमा बुधबार भएको छुरा प्रहारको आरोपमा ३३ वर्षीय प्यालेस्टिानी मूलका एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

स्थानीय अभियोजक कार्यालयका प्रवक्ता पिटर मुलर–राकोले एएफपीसँग भने, ‘घटनामा आतङ्कवादी पृष्ठभूमिको कुनै सङ्केत प्राप्त भएको छैन । आक्रमण र संदिग्ध व्यक्तिको विगतबारे अनुसन्धान जारी रहेको छ ।’

आक्रमणमा परी एक १६ वर्षीया किशोरी र १९ वर्षीय युवकको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । 

यात्रुहरूले संदिग्धलाई नियन्त्रणमा लिन मद्दत गरेका थिए । आक्रमणकारीलाई ब्रोक्सस्टेड शहरको रेलवे स्टेशनमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कुनै निश्चित बासस्थान नभएका ती संदिग्ध हालै मात्र अर्को एक आक्रमणको मुद्दामा जेल परी रिहा भएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्