क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– कम्प्युटर एसोसिएसन नेपाल महासंघले २८औँं संस्करणको क्यान इन्फोटेक २३ माघदेखि सञ्चालन गर्ने भएको छ ।
 
महासंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघका अनुसार क्यान इन्फोटेक माघ २३ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

महासंघले आयोजना गर्ने देशकै ठुलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव चिरञ्जीवी अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने बताए । 

सर्वसाधारणका लागि १०० र विद्यार्थीहरूका लागि ५० रूपैयाँ शुल्क निर्धारण गरिएको उनले जानकारी दिए । उनले प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय  सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरूको सहभागिता रहने बताए । 

यस पटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गर्ने उनको भनाइ थियो । क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ ।

महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र करिब साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ । महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ । 

काठमाडौँमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताए । उनका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३०, बाग्मती प्रदेशमा चैत २ देखि चैत ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुनेछ । 

महासंघले सन् १९९५ देखि क्यान इन्फोटेक सुरुआत गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्