क्यानले भन्यो– सेभेन थ्रीसँग सम्झौता गर्नु गल्ती भयो

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्टस्सँगको सम्झौतामा केही त्रुटि भएको स्वीकार गर्दै क्यानको कुनै गलत नियत नभएको समेत स्पष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेको तर सम्झौतापछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्टस्ले धोका दिएको बताए ।

स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अब सवै मिलेर नेपाली क्रिकेटलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने उनले बताए ।

श्रम स्वीकृतिदेखि सुरु भएको लिगको विवादमा संघको पनि केही त्रुटि रहेको चन्दले स्वीकार गरे । उनले अहिले लिगमा खेल्ने अधिकांश खेलाडीले पारिश्रमिक पाइसकेको र केही खेलाडीले पनि छिट्टै पाउने दाबी गरे । 

उनले स्पट फिक्सिङ प्रकरणमा प्रहरीलाई क्यानको पूर्ण सहयोग हुने पन िबताए । लिग सुरु हुनुभन्दा पहिले नै सम्भावित फिक्सिङलगायत घटनालाई मध्यनजर गर्दै सिआइबीलाई पत्र लेखेर प्रतिनिधि पठाउन भनेको चन्दले जानकारी दिए । 

उनले फिक्सिङ तथा कुनै अनियमिततामा क्यानका कुनै पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको बताए । 
यस्तै बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरू छलफलमा रहेको र विद्यमान कानुनअनुसार नै अघि बढ्ने बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको छानबिनमा नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको भन्दै २ क्रिकेटरलाई पक्राउ गरेको छ भने फिक्सिङमा संलग्न हुन सक्ने आशंकामा अन्य १० जनामाथि पनि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्