३ महिनामा हटाइयो ९ हजार होर्डिङ बोर्ड

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ३ महिनामा ९ हजार होर्डिङ बोर्ड (परिचय पाटी) हटाएको छ । नियमविपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो ।

महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरीसहित ४ टोली खटाएको छ । 

विशेष गरी नयाँ बानेश्वर,  कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगन्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोअनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो । 

महानगरले आर्थिक ऐन–२०७९ बमोजिम ६ वर्ग फुटसम्मको वार्षिक ५०० रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि १५ सय  १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । 

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ ।

विभिन्न स्थानमा राखिएका बोर्डबाट असुल उपर हुने रकम व्यवसाय करअन्तर्गत पर्छ । 

चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा ५५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा पुस मसान्तसम्म ३१ करोड ४२ लाख असुल गरेको अधिकारीको भनाइ छ ।  

लामो समयदेखि असुल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रूपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम पनि असुल हुन थालेको बताएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्