Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल टी–२० लिग विवाद

नेपाल टी–२० लिग: छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

बुधबार, माघ ११, २०७९

काठमाडौँ । नेपाल क्रिकेट टी–२० लिगमा खेलाडीको पारिश्रमिक, 'स्पट फिक्सिङ'लगायत विवादबारे छानबिन गर्न गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई प्रतिवेदन बुझाएको छ ।

बुधवार एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई खेलाडीको पारिश्रमिक विवादबारे प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको ४६ पृष्ठ लामो प्रतिवेदनमा नेपाल टी–२० लिग आयोजनाका साझेदार भारतीय कम्पनी सेभन थ्री स्पोर्टस र क्यानबीचको सम्झौता खारेज गर्ने लगायतका सुझाव दिएकाे छ  । 

प्रतिवेदनमा लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौतामा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८, २९ र ४४(२) मा भएको व्यवस्थाको पालना नभएको उल्लेख छ । 

प्रतिवेदनमा नेपाल क्रिकेट संघले विदेशी कम्पनी वा संस्थालाई आफ्नो साझेदार बनाउनुअघि नियामक निकायसँग सहमति लिएको नदेखिएका कारण कारबाहीको सिफारिस समेत गरेको छ । साथै प्रतियोगिता आयोजना सम्बन्धमा भएको सम्झौता तत्काल खारेज गर्न समेत समितिले निर्देशन दिएको छ । 

समितिले नेपाल टी २० लिगमा भएको स्पट फिक्सिङबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट प्राप्त निस्कर्षको आधारमा दोषीमाथि कारवाहीमा आवश्यक सहयोग पर्याउने निर्णय समेत गरेको छ । साथै, स्पट फिक्सिङबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)सँग आवश्यक छलफल र समन्वय गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिले क्रिकेट र नेपाल टी–२० लिगसँग सम्बन्धित २० जनाभन्दा बढी व्यक्तिसँग बयान लिएपछि प्रतिवेदन तयार पारेको हो ।

सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी १ जना नेपाली खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको छ । स्पट फिक्सङमा संलग्न रहेको आरोपमा मेहबुब आलम र आदिल अन्सारीलाई  पक्राउ गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्