‘सरी’ रामचन्द्र दाइ !

आइतबार, पुस १०, २०७९

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको पहिलो निकट घेरामा रहेका बाहेकको लागि आजको  बालकोट ‘सरप्राइज’ अपेक्षित थियो । एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटमा बसेर सत्ता गठबन्धनले नयाँ सरकार बनाउन गरेको गतिविधिको रमिते मात्रै बनेका छैनन् भन्ने कुरा राजनीतिको सामान्य ज्ञान भएका सबैले अनुमान गरेकै थिए । 

 

गठबन्धन गरेर चुनावमा गएपछि एमालेलाई पत्तासाफ गर्न सकिन्छ भन्ने सत्ता गठबन्धनको विश्लेषण मंसिर ४ को चुनावी परिणमले हचुवा सावित गरिदिएकै थियो । तर, देउवाको वरिपरिको पहिलो घेरा परिस्थितिको सही मूल्यांकन गरी देउवालाई सो कुराको यथार्थ जानकारी गराउन असक्षम रह्यो । त्यसैको परिणाम स्वरुप काँग्रेसले केन्द्रदेखि प्रदेशसम्ममा सत्ता गुमाएर खाली हात हुनुपरेको छ ।

 

निर्वाचनमा सबैभन्दा ठूलो दल बनेर पनि रित्तो हात बस्नुपर्दा काँग्रेसीहरुलाई जति चित्त दुखेको छ, काँग्रेसीहरु त्योभन्दा बढी भावुक रामचन्द्र पौडेललाई देखेर भएका हुनुपर्छ । नेपाली काँग्रेसमा देउवाको सदावहार आलोचक जस्तै बनेका वरिष्ठ नेता पौडेल केही वर्षयता देउवाको सबैभन्दा ठूलो सहयोगी जस्तो बनेका थिए ।

 

काँग्रेसको गत १४औं महाधिवेशनमा पौडेलले देउवालाई फाइदा हुने परिस्थिति निर्माण गरिदिए । पाए देउवा विरुछ आफै पार्टी सभापतिमा उम्मेदवार बन्न अग्रसर भएका पौडेल प्रकारान्तमा न उम्मेदवार बने, न देउवा विरुद्ध लागे । आफ्नै पक्षले डा. शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएपछि उनी कतै पनि नखुलेको भन्दै मौन बसिदिए । जसले गर्दा देउवालाई फाइदा पुगेको विश्लेषण गरिएको थियो ।

 

पार्टी संसदीय दलको निर्वाचनमा महामन्त्री गगनकुमार थापाले देउवा विरुद्ध उम्मेदवारी दिदा पौडेल देउवाको पक्षमा खुलेर लागे । पौडेलको पनि समर्थन पाएका देउवाले थापालाई भारी मतान्तरले पराजित गरे । देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत मात्रै पाएका थिए ।

 

पौडेलले देउवालाई लगातार दुई पटक गुन लगाएपनि देउवाबाट केही पाउन सकेका छैनन् । यसपालि देउवाले राष्ट्रपति बनाउन सहयोग गरिदिन्छन् भन्ने ठूलो आशा पौडेलको थियो । सायद, देउवाले पनि पौडेललाई त्यही आश्वासन दिएका थिए । 

 

तर, बालकोट सरप्राइजपछि काँग्रेसको हातबाट सबैकुरा गुमेको छ । अब काँग्रेसले पाउने भनेको प्रमुख प्रतिपक्ष दलको नेता मात्रै हो । त्यो पद पनि संसदीय दलको नेता भइसकेकोले देउवाले नै पाउने छन् । पौडेलले अब केही पाउने छैन । राष्ट्रपति त हुने सम्भावना नै देखिदैन । त्यसैले, बालकोट सरप्राइज अनपेक्षित थिएन, सरी रामचन्द्र दाइ !

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्