पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी

बुधबार, मंसिर २१, २०७९

झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् ।


एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन्। यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन सिञ्चित हुँदै आएको छ।


बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ। पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिराको उच्च जोखिममा सो नहर सधैँ रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए। 


गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिराले नहरको मुहानलगायत विभिन्न ठाउँ भत्किएको थियो। सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ।


नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा.भोजराज घिमिरेको पहलमा विसं २०७२ मा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको अध्यक्ष तिवारीले बताए । 


बाहुनडाँगीका किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापरलगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन्। पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ।

 
उनले सो स्थानमा नियमित सिँचाइको विकल्पका रूपमा मेचीनगर–१ को निन्दा सिरानबाट करिब एक हजार तीन सय मिटरको सुरुङ निर्माण गरी सिद्धिनहरसम्म पानी पुर्‍याउन आवश्यक रहेको बताए।


विगतमा पटक–पटक यस विषयमा छलफल भए पनि राजनीतिक खिचातानीका कारण सो कार्य सफल हुन नसकेको उनको आरोप छ। उनले निन्दा खोलाको पानी सुरुङमार्फत नहरमा पुर्‍याउने हो भने त्यसैबाट पिउने पानी, बिजुलीसमेत निकाल्न सकिने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्