अब कसको बन्छ सरकार ?

बुधबार, मंसिर २१, २०७९

काठमाडौं – प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आएसँगै दलहरू सरकार गठनका लागि कसरतमा जुटेका छन् । स्पष्ट बहुमत ल्याउने दाबी सहित निर्वाचनमा कामिएका दुवै गठबन्धनको सरकार गठनका लागि बहुमत नपुगे पछि यति बेला दलहरू साना र वैकल्पिक दलहरूसँग पनि छलफलमा जुटेका छन् । त्यति मात्रै होइन शक्ति सन्तुलनको विषयलाई लिएर दुवै गठबन्धनका दलहरूले गठबन्धन इतरका दलहरूसँग पनि सरकार गठनका लागि खुल्ला रहेको आव्हान समेत गरिसकेका छन् । 


सत्ता गठबन्धनलाई कम्तीमा पनि १५ वर्ष निरन्तरता दिने दाबी सहित निर्वाचनमा होमिएको माओवादीले निर्वाचनको मत परिणाम आएलग्गत्तै एमालेसङ पनि वार्ता सुरु गरेको छ । अध्यक्ष दाहाललाई प्रधानमन्त्री दिन काँग्रेसले आनाकानी गरे एमालेसङ सहजै सहकार्य हुने एमाले स्रोतको दाबी छ । यद्यपि सोमबार बसेको सत्ता गठबन्धनको बैठकले भने सत्ता गठबन्धनलाई नै निरन्तरता दिने सहमति गरेका छन् । 


सत्ता गठबन्धनलाई नै निरन्तरता दिने अथवा अन्य विकल्प खोज्ने भन्ने विषयमा माओवादी केन्द्र भित्र फरक फरक मत सार्वजनिक भएका बेला सचिव गणेश शाहले भने आफूहरूको पहिलो प्राथमिकता सत्ता गठबन्धनै नेतृत्वमा सरकार गठन गर्ने भएको बताएका छन् ।


“ अब हामीले निर्वाचनमा सत्ता गठबन्धनको सरकार गठन गर्ने भनेर मत दियौँ । जनताले पनि सरकार गठन गर्नका लागि पुग्ने जति मत दिएका छन्। त्यसैले हाम्रो प्रयत्न गठबन्धनकै सरकार बनाउनेमा हुन्छ । यदि भएन भने अनि बल्ल विकल्प सोच्ने छौँ ।” गणेश शाह— सचिव, नेकपा माओवादी केन्द्र


सरकार निमार्णका लागि सबै भन्दा पहिला संसद्को ठुलो दल नेपाली काँग्रेसले पहल कदमी थाल्ने छ । त्यसका लागि काँग्रेसले वर्तमान सत्ता गठबन्धनमा आबद्ध दलहरूका साथै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसङ पछि छलफल सुरु गरेको छ । सरकारको नेतृत्वको लागि माओवादी केन्द्रले पनि दाबी गरेका बेला काँग्रेसले भने ठुलो दलको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने अडान राख्दै आएको छ । 


“ हामी पहिलो दल बन्यौँ । त्यसैले हाम्रो नेतृत्वमा नयाँ सरकार गठन हुन्छ । त्यसमा कुनै विवाद छैन । यसका लागि सत्ता गठबन्धनको औपचारिक छलफल समेत सुरु भइसकेको छ । केन्द्र देखि प्रदेश सम्म सत्ता गठबन्धनको सरकार बनाउन हामीले साना दलहरूसँग पनि छलफल सुरु गरेका छौँ । ” 

गोपालमान श्रेष्ठ, नेता, नेपाली काँग्रेस

निर्वाचनको सङ्घारमा गठबन्धनबाट जसपालाई फुटाउन सफल भएको एमालेले अहिले पनि गठबन्धन भत्काउने दाउमा छ । त्यसका लागि एमाले अध्यक्ष ओलीले विगतको तिक्ततापूर्ण सम्बन्धलाई भुलेर सहकार्य गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई फोन समेत गरिसकेका छन् । नयाँ सरकार निमार्णका लागि एमालेले वाम शक्तिहरूसँग मात्रै होइन काङ्ग्रेससँग पनि छलफल सुरु गरेको बताइएको छ । यद्यपि एमालेले भने हाललाई काङ्ग्रेससँग भन्दा पनि आफ्नो नेतृत्वमा वाम सक्तीहरूबिचकै सहकार्य राम्रो हुने बताएको छ ।


एमालेको नेतृत्वमा सरकार गठन गर्न जनताले जनादेश दिएको स्पष्ट भएको छ । गठबन्धनका कारण प्रत्यक्षमा थोरै एमालेलाई घाटा भयो । तर समानुपातिकको मतमा भने एमाले पहिलो दल बन्यो । जनताको चाहना एमालेकै सरकार बनोस् भन्ने आधार यही हो । त्यसका लागि एमाले गठबन्धन फुटाउन लाग्दैन , तर चुनौतीको सामना गर्न भने एमालेले सरकारको नेतृत्व गर्न सक्छ । शेरबहादुर तामाङ—नेता, नेकपा एमाले


दलहरूलाई केन्द्र सरकारको गठन गर्दा प्रदेश सरकारलाई पनि मध्यनजर गर्दै समीकरण बनाउन चुनौती छ । गठबन्धन नै फुट्ने विश्लेषण भइरहेका बेला सोमबार सत्ता गठबन्धनको बैठक समेत बस्ने तयारी भएको छ । प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेश बाहेकका चार प्रदेशमा सत्ता गठबन्धनको बहुमत छ भने प्रदेश १ मा एमाले नेतृत्वको बहुमत छ । 


यद्यपि पछिल्लो समय जसपा अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्ति पछि भने एमाले नेतृत्वको गठबन्धन पछि सङ्कटमा पर्ने देखिएको छ । एमालेसङको  चुनावी तालमेल चुनाव सम्मका लागि मात्रै भएको भन्दै अध्यक्ष यादवले अभिव्यक्ति दिए पछि एमाले नेतृत्वको गठबन्धन सङ्कटमा परेको हो ।  वाम शक्तिहरू एक भएको अवस्थामा मधेस प्रदेश बाहेकका प्रदेशमा वाम गठबन्धनको बहुमत पुग्ने देखिन्छ । त्यसैले सरकारको नेतृत्व हत्याउन यती बेला सबै दलकारुले केन्द्र देखि प्रदेश सम्मको समिकिरणलाई ध्यानमा राख्दै बागैनिङ गरिरहेका छन् ।  

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०६:०७
प्रतिक्रिया दिनुहोस्