अनौठो प्रथा: जहाँ मरेका आफन्तको शव घरमै राखेर सेवा गरिन्छ र मन परेको सामान दिइन्छ

शुक्रबार, मंसिर १६, २०७९

काठमाडाैँ - नेपालमा मानिसको मृत्युपछि शव जलाउने वा गाड्ने चलन छ । तर विश्वमा केही यस्ता जनजाति छन् जहाँ मानिसको मृत्युपछि शवलाई अनेकन् विधिबाट अन्तिम संस्कार गरिन्छ ।
इण्डोनेशियामा एक यस्तो समाज छ जहाँ परिवारका सदस्यको मृत्युपछि शवलाई अन्तिम संस्कार नगरी साथै राख्ने परम्परा छ ।

इण्डोनेशियाका तोराजन समाजको परम्परा अनुसार परिवारको सदस्यको मृत्युपछि अन्तिम संस्कार नै गरिँदैन । तोराजन समाजमा कसैको मृत्यु भएमा उनीहरू यसलाई जीवनको एक हिस्सा मान्छन् र मृतकको शवसँगै जीवन जिउँछन् ।

इण्डोनेशियाको सुलावेसी पहाडमा बस्ने तोराजन समाजको परम्परामा मृतकको शवलाई बिरामीलाई झै स्याहार गरेर राखिन्छ । यति मात्र होइन परम्परागत रूपमा यस समाजमा मृत सदस्यलाई बिहानको खानाका लागि बोलाउने र खाना दिने गरिन्छ ।

सुलावेसीका तोराजनको मान्यता अनुसार हरेक दिन मृतकलाई खाना ख्वाउने र शवलाई परिवारका साथमा ओच्छ्यानमा राख्नु नै उनीहरूको प्रथा हो । त्यसैले उनीहरू मृतक आफन्तको शवलाई नुहाइदिने, खाना दिने, सरसफाइ गर्ने र मृतकलाई मन पर्ने मोबाइल, घडी, पर्स दिने गर्दछन् । जसका कारण शवमा राखेका केही महँगा आभूषण र वस्तु चोरी समेत हुने गर्दछ । यसरी वर्षाै वर्षसम्म साथै राखेको शवलाई एक निश्चित समयपछि भने अन्तिम संस्कार गरिन्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०१:४९
प्रतिक्रिया दिनुहोस्