भोट भन्दा पनि नोट प्यारो

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - देश प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा होमिएको छ । तर साधारण जनताहरूमा भने निर्वाचनको लागी भनेर खासै उत्साह देखिदैन । चुनावको यस बिचमा पनि देश छाडेर विदेशीहरूको संख्या रोकिएको छैन् ।

 

उनिहरुलाई मतदान गर्नु भन्दा रोजगार नै प्यारो छ । देशमा रोजगारीको अवसर नभएको कारण विदेशिनु पर्ने आफूहरूको बाध्यता रहेको उनीहरू बताउँछन् । 

 

झापाका २७ वर्षीय प्रबिन मर्हजन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा वैदेशिक रोजगारको लागी जान भनेर पुगेका थिए । उनलाई छाडन उनको आमा र बुबा पनि साथमा थिए । उनी रोमानिया जाँदै छन् ।

 

रोमानियाबाट अरु देशको लागी पनि काम गर्न मिल्छ भन्ने उनले सुनेको बताए । उनलाई निर्वाचन पछि मात्र विदेश जाने इच्छा थियो तर त्यस अघि नै भिसा आएको कारण जानु पर्ने भएकोमा उनले बताए । 

 

राजनीतिक शास्त्रमा स्नातक तह पास गरेका उनको राजनीति तर्फ राम्रै ज्ञान छ ।  प्रबिनलाई पुरानो नेताहरू प्रति अलिकति पनि आशा नभएको तर पछिल्लो समय सक्षम युवाहरू पनि राजनीति तर्फ अगाडि बढेको देख्दा भने देशमा केही फरक देख्न सकिन्छ कि भन्ने आशा जागेको बताउँछन् । 

 

आफ्नो पालो कुरिरहेका अधिकांश युवाहरूको अनुसार नेताहरूले उही पुरानो भाषण नै कायम राखेर आफूहरूको आँखामा धुलो छेप्ने काम भइरहेको बताउँछन्नेताहरूको पुरानै व्यवहार देखेर वाक्क भएका मतदाताहरू  नेपालमा भविष्य नभएको बताउँछन् । 

चुनावको समयमा पटक पटक युवा स्वरोजगारको विषयहरू प्रमुख एजेण्डाको रुपमा उठाइने गरेको पाइन्छ । तर पनि देशमा युवाहरूलाई टिकाउन सकिने वातावरण बनाउनबाट सरकार चुक्ने गरेको छ । वैदेशिक रोजगार विभागको अनुसार यस वर्षको असोज महिनामा लगभग ६२ हजार ७ सय ६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । 

 

सोलुखुम्बु घर भएका लाक्पा तामाङ आफ्नो परिवारसँग जानु अगाडि भावुक हुँदै थिए । उनको साथमा श्रीमती र छोरी पनि उनलाई छाडन भनेर आएका थिए । उमेरले ३४ पुगेका उनी कामको लागी दुबै जान लागेका छन् । उनी यो भन्दा अघिल्लो पटक पनि धेरै पटक विदेश जाँदै फर्कने गरेका छन् । उनले भोट दिनु एउटा सक्षम नागरिकको कर्तव्य हो भन्ने कुरा राम्रोसँग बुझेका छन् । तर देशमा रोजगारीको अभावको कारण भोट नदिई नै जानु परेको उनको भनाई छ ।  

 

उही पुरानो भाषण नै कायम राखेर आफूहरूको आँखामा धुलो छेप्ने काम भइरहेको कारण भोट दिन पनि मन नलाग्ने गरेको वैदेशिक रोजगारमा जानको लागी पालो कुरेर बसिरहेका मतदाताहरू बताउँछन्नेताहरूको पुरानै व्यवहार देखेर वाक्क भएको उनीहरुले नेपालमा भविष्य नभएको बताए । 

 

अधिकांश मतदातामा देशको राजनितिक अवस्था देखेर थकित भएको बताउँछन् भने केहीमा भने देशमा युवा नेतृत्व बढ्दै गएकोमा उत्साहित पनि देखिन्छन् । पुरानोलाई भोट हालेर केही प्रगति नभएकाे ठान्ने उनीहरुलाई नयाँसँग पनि खासै आस छैन ।



 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्