नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल भोली

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–नेपाल र पाकिस्तानबीच बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् । नेपालका प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानसँग जित्ने मनोवलका साथ टिम तयार पारिएको बताएका छन् । घरेलु फुटबलमा सफल प्रशिक्षक कटुवालले पहिलोपल्ट राष्ट्रिय टिमको जिम्मेबारी पाएका हुन् । उनले यो अवसरलाई खुसीका रुपमा परिभाषित गरे । लामो समय फिफाको निलम्बनमा परेको पाकिस्तान तीन वर्षपछि नेपालसँगको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । प्रशिक्षक कटुवालले पाकिस्तानी खेलाडीहरु विदेशमा खेल्ने भएकाले विपक्षीलाई कमजोर आंक्न नमिल्ने बताए । पहिलोपल्ट नेपालको कप्तानी गर्न लागेका रोहित चन्दले यो अवसरका लागि कृतज्ञता व्यक्त गरे । नेपालले घरेलु मैदानमा डेढ महिनापछि मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । यसअघि गत असोज १० गते नेपालले दशरथ रंगशालामा बंगलादेशसँग खेलेको थियो । पाकिस्तान भने फिफा निलम्बन फुकूवा भएपछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । पाकिस्तानका प्रशिक्षक सइद अनवरले छोटो समयमा खेल आयोजना गरेकोमा एन्फालाई धन्यबाद दिए । दुई महिनाको बन्द प्रशिक्षण र छनोट प्रक्रियापछि आफ्नो टिम नेपाल आएको उनको भनाई थियो । पाकिस्तानका कप्तान हसन बसिरले नेपाली दर्शकका अगाडि खेल्न पाउनु रमाइलो अनुभूति हुने बताए ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४३
प्रतिक्रिया दिनुहोस्