नेभिगेशन
समाचार

दार्चुला आएर भूमि फिर्ता हुँदैन, भारतसँग बोल्न सक्नुपर्छ : प्रधानमन्त्री

दार्चुला– प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधान गरिने बताएका छन् । दार्चुलामा बुधबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले बहुमतले पारित गरेको बताए । संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने उनले बताए । उनले भने, ‘यो भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्नुपर्छ । एक भएर वार्ता गरेर भूमि फिर्ता ल्याउनुर्छ । ओलीजीले यहाँ आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ । हामी कुटनीतिक रुपमा पहल गछौँ ।’ कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेका छन् । मैले सुनिरहेको छु ओलीजी आएर दार्चुलामा लिपुलेक फिर्ता ल्याउँछु भन्नुभएछ । उहाँले भनेर केही हुनेवाला छैन । यो कालापानी, लिपम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो भनेर संसद्ले एकलौटी भएर, एक आवाज भएर हामी सबैले पास गरेका हौं,’ उनले भने, ‘ओलीले मात्रै गरेको भन्ने झुटा कुरा गर्नुभएको हो । दुई तिहाई उहाँले गरेर आएको छ ? दुई तिहाइले गरेको हो । त्यसमा कांग्रेस, माओवादी सबै पार्टी भएर गरेको हो ।’ उनले दार्चुला आएर कालापानी, लिपुलेक र लिम्पियाधुराको जिकिर गरेर भूमि फिर्ता नआउने बताए । ‘दार्चुला आएर फिर्ता हुने छैन । सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने । नेपालको भूभाग हो तर नेपालसँग छैन,’ देउवाले भने । गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म निरन्तर जाने पनि उनले बताए । गठबन्धन राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ । देउवाले लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था स्थापना भएको र त्यसलाई जोगाएर अघि बढ्न गठबन्धन भएको बताए । निर्वाचनले राष्ट्रलाई कुन दिशामा लाने भन्ने निर्णय गर्ने भएकाले सचेत रहन पनि मतदातालाई देउवाले आग्रह गरे । उनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध रहेकाले कसैमा पनि कुनै शंका नराख्न पनि आग्रह गरे । दार्चुलामा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र छ । जहाँ कांग्रेसका नेता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू गठबन्धनका उम्मेदवार छन् । प्रदेशतर्फ दार्चुला (१) मा कांग्रेसका विक्रमसिंह धामी र दार्चुला (२)मा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार छन् । गठबन्धनले आयोजना गरेको चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार